नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विश्वकप छनोट अन्तर्गतको ग्लोबल क्वालिफायर्सका लागि टिम तयार भएको बताएका छन्। कोभिड १९ संक्रमणका कारण चार दिनदेखि आइसोलेसनमा रहेका लामिछानेले भर्चुअल पत्रकार सम्मेलनका क्रममा विश्वकपमा छनोट भएर सन् २०१४ को जस्तो माहोल बनाउन चाहेको बताएका छन्।
‘मेरो लागि भन्दा पनि हामी सबैका लागि यो महत्वपू्र्ण छ। नेपालले अझै धेरै गर्न आवश्यक छ। विश्वकपमा छनोट भएर सन् २०१४ को जस्तो माहोल बनाउने लक्ष्य छ,’ कप्तान लामिछानेले भने, ‘टिममा धेरैजना सिनियर खेलाडी हुनुहुन्छ। वर्षौदेखि खेलेको उहाँहरुको अनुभव महत्वपूर्ण हुन्छ।’
उनले आफ्नो टिमको संरचना राम्रो भएको दाबी समेत गरे। खासगरी ‘ओपनिङ’ र ‘वान डाउन’मा पनि राम्रो ब्याटिङ भइरहेको भन्दै उनले फिल्डिङ र बलिङमा पनि उत्कृष्ट प्रदर्शन गरिरहेका खेलाडी रहेको बताए।
कप्तानीले आफ्नो प्रदर्शनमा पार्न सक्ने दबाब बारे उनले भने: खासै फरक नपर्ला। आफ्नो ओभरमा आफ्नो तरिकाले सोच्नु पर्छ, त्यसपछि समग्र सोच्नुपर्छ।
प्रधानमन्त्री कप र त्यसपछि अभ्यासका क्रममा पनि खेलाडीहरु कोभिड १९ संक्रमित भइरहेका छन्। यसलाई सकारात्मक रुपले विश्लेषण गर्दा अहिले संक्रमित भएका खेलाडी प्रतियोगिता अगावै मैदान फर्कने भएकाले प्रतियोगिताको दौरान अफ्ठ्यारो नपर्नेमा उनी आशावादी सुनिए।
‘५/६ जना साथीहरु कोभिड १९सँग संघर्ष गरिरहनु भएको छ। म चार दिन यता आइसोलेसनमा छु’ उनले भने।
नेपालले सन २०१४ मा विश्वकप खेल्दा राष्ट्रिय टोलीबाट विश्वकप खेल्ने सपना देखेका सन्दीपले विश्वकपको छनोटका लागि प्रमुख स्टेजमा नेतृत्व गर्न पाउनु आफ्ना लागि ‘ब्लेसिङ’ भएको बताए। क्वालिफायर्स अघिको सिरिजमा प्रदर्शन हेरेर क्वालिफायर्सका लागि उत्कृष्ट प्लेइङ ११ बनाएर अघि बढ्ने योजना रहेको उनले सुनाए।
अर्कोतर्फ प्रशिक्षक पुबुदु दासानायकेले नेपाललाई विश्वकप पुर्याउने आफ्नो ‘जब’ भएको भन्दै आफ्नो तर्फबाट शतप्रतिशत दिने बताए। आफूले प्रशिक्षण छोड्दाको तुलनामा अहिले ब्याटिङमा नेपाली टोली राम्रो भएको भन्दै उनले बलियो टिमहरुसँग खेलेर क्वालिफायर्स खेल्नु सकारात्मक पक्ष भएको बताए।
‘सबै राम्रो भइरहेको छ। अफ्ठ्यारो र छोटो समयमा म आएको छु। अब केही दिन छ। त्यसपछि सिरिज सुरु हुनेछ। हामी सहि बाटोमा छौं,’ प्रशिक्षक दासानायकेले भने, ‘अहिलेको समयमा सबै भन्दा महत्वपूर्ण कुरा विश्वकपमा छनोट हुनु हो।’
उनले प्रतिस्पर्धी टिमबारे कुरा गर्दै टी २० मा नतिजा यसै आउने भन्ने नहुनाले राम्रो तयारी गरेको बताए।
नेपालले ग्लोबल क्वालिफायर्समा फेब्रुअरी १८ मा ओमन, फेब्रुअरी १९ मा फिलिपिन्स र २१ मा क्यानडासँग खेल्नेछ। त्यसअघि चार देशसम्मिलित सिरिजमा नेपालले खेल्नेछ। जसअन्तर्गत फेब्रुअरी ११ मा नेपाल र ओमन, फेब्रुअरी १२ मा नेपाल र युएई र फेब्रुअरी १४ मा नेपाल र आयरल्याण्ड प्रतिस्पर्धा गर्नेछन्।