भरतपुरमा अनियन्त्रित भई कन्टेनर बिजुलीको पोलमा ठोक्किएर चालकको उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाही लालबन्दी नगरपालिका स्थायी घर भएका मेघराज खत्री छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार विस्तार भइरहेको नारायणगढ गोन्द्राङ्ग सडक खण्डमा कन्टेनर पल्टिँदा उनको मृत्यु भएको हो।
भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको प्रदेश ०३-००१-००५ ख ९९७० नम्बरको कन्टेनर सोमबार दिउँसो भरतपुर महानगरपालिका–१२ बसन्तचोकमा अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको थियो। चालकको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। कन्टेनरले ठक्कर दिँदा दुईवटा बिजुलीका पोलहरु ढलेका छन्।

