क्यानडाको राजधानीमा संकलकाल घोषणा गरिएको छ । कोरोना खोपको विरोधमा त्यहाँका ट्रक चालकहरूले गरेको आन्दोलन चर्किएपछि राजधानी ओटावाका सहरका मेयरले संकटकाल घोषणा गरेका हुन् ।
मेयर जीम वाट्सनले ‘सहर पूर्णरूपमा नियन्त्रणबाहिर गएको’ बताएका छन् । त्यहाँ एक साताभन्दा बढी समयदेखि ट्रक चालकहरुको प्रदर्शन एक हप्तादेखि जारी छ ।
‘फ्रिडम कन्भोई’ भनिएको प्रदर्शन त्यहाँको सरकारले ट्रक ड्राइभरहरूलाई कोरोना खोप अनिवार्य गर्ने नियम लगाएपछि सुरु भएको थियो । वाट्सनले प्रदर्शनकारीहरूले बढ्दो रूपमा ‘असंवेदनशील व्यवहार’हरु गरेको बताएका छन् ।
प्रदर्शनकारीहरूले तारम्तार हर्न र साइरन बजाउने र पटाका पड्काउने काम गरेर हैरान पारेको मेयरले बताएका छन् । उनले आफूहरू प्रदर्शनकारीहरु भन्दा कम संख्यामा रहेकाले लडाई हारिरहेको बताए । ‘यो समाधान हुनुपर्छ। हामीले हाम्रो शहर पुरानै स्वरूपमा ल्याउनुपर्छ,’ मेयर वाट्सनले भनेका छन् ।
एउटा विज्ञप्तिमा उनले ती प्रदर्शनहरूले शहरका बासिन्दाको सुरक्षामा समेत असर पुर्याएको बताएका छन् ।
बिबिसीका अनुसार ट्रक ड्राइभरहरूले सडकमा टेन्ट र गाडीहरू राखेर अवरोध सिर्जना गरेका छन् । मेयरले अब सहरमा के गरिनेछ भन्ने स्पष्ट विवरण दिएका छैनन् ।
स्थिति नियन्त्रणमा लिन संकलकाल/आपतकाल घोषणा गरिएको छ । यसले अग्रमोर्चा र आपत्कालीन सेवाका कर्मचारीहरूलाई आवश्यक सामान आपूर्तिमा सहरलाई थप शक्ति प्रदान गर्ने विस्वास गरिएको छ ।
हाल क्यानडाका एक लाख २० हजार सीमा वारपार गर्ने ट्रक चालकमध्ये करिब ९० प्रतिशतले खोप लगाइसकेका छन् । बाँकी चालकहरूलाइ समेत खाेप अनिवार्य गरिएपछि प्रदर्शन चर्किएकाे हाे । तर अहिले प्रदर्शनमा अन्य मागहरू पनि थपिएका छन् ।