राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले मुलुकभन्दा ठूलो गठबन्धन नभएको बताएका छन् ।एमसीसीविरुद्धमा बुधबार काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले प्रतिगमनका विरुद्ध गठबन्धन बनाइएको भन्दै मुलुकभन्दा ठूलो गठबन्धन हुन नसक्ने बताएका हुन् ।
उनले जनमोर्चाले गठबन्धन जोगाउन भन्दा मुलुकलाई जोगाउन लागि पर्ने बताए ।
अहिले संसद् र न्यायालयलाई दलहरूले ध्वस्त पार्ने काम गरेको उनको भनाइ छ । उनले एमसीसीलाई पत्र लेखेर राजनीतिक दलका नेताहरूले बेठिक काम गरेको पनि बताए ।
एमसीसीका नाममा नेपालमा अमेरिकी साम्राज्यवादले शासन गर्न खोजेको भन्दै यस विषयमा राजनीतिक दलहरू गम्भीर हुनुपर्ने उनको भनाइ छ ।
केसीले एमसीसीमार्फत अमेरिकाले नेपाललाई चीन विरोधी अखडा बनाउन खोजिएको र नेपालको जलस्रोतलाई कब्जा गर्न खोजेको जिकिर गरे ।

