चितवनको पुलचोक गोन्द्र्याङ ६ लेन सडकको नालीको खोंचमा परेर गैंडाको मृत्यु प्रकरणमा निकुञ्ज, सडक र वनका कर्मचारी, नेपाली सेना र निर्माण कम्पनीलाई दोषी ठहर भएका छन् ।
गैंडाको मृत्यु प्रकरणको छानबिन गर्न गठित समितिले प्रतिवेदन सार्वजनिक गरेको छ । सार्वजनिक प्रतिवेदनले निकुञ्ज, सडक र वनका कर्मचारी, नेपाली सेना र निर्माण कम्पनीलाई दोषी ठहर गरेको छ । समितिले प्रतिवेदनमा सम्बन्धित निकुञ्ज कार्यालयका कर्मचारीहरूलाई प्रचलित निजामति सेवा ऐन, २०४९ तथा अन्य प्रचलित कानुनले तोकेको पदिय दायित्व जिम्मेवारीपूर्वक नगरेकोमा विभागीय कारबाहीको सिफारिस गरेको छ ।
प्रतिवेदनमा असावधानीपूर्वक काम गर्ने, गराउने, सुरक्षाको प्रबन्ध नगर्ने, सरोकारवाला निकायहरूसँग समन्वय नगर्ने सडक डिभिजन कार्यालय भरतपुरका पदाधिकारीहरूलाई समेत निजामति सेवा ऐनअनुसार विभागीय कारबाही गर्न भनिएको छ । प्रतिवेदनमा निकुञ्जको सुरक्षार्थ तैनाथ नेपाली सेनाको खड्गदल गणलाई सचेत गराउनसमेत भनिएको छ ।
गत माघ ९ गते निर्माणाधिन सडकको खाडलमा परेर भाले गैंडाको मृत्यु भएको थियो । गैंडाको मृत्युबारे छानविन गर्न वन तथा वातावरण मन्त्रालयले वन तथा भू–संरक्षण विभागका उपमहानिर्देशक डा राजेन्द्र केसीको संयोजकत्वमा मन्त्रालयका कानुन उपसचिव रामजी दनाई, निकुञ्ज विभागका योजना प्रमुख डिलबहादुर पूर्जा पुन, डिभिजन वन कार्यालय, चितवनका प्रमुख पदम नेपाल र चितवन निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत हरीभद्र आचार्य सदस्य रहेको छानबिन समिति बनाएको थियो ।

