चितवन : सवैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी एवम वर्तमान प्रमुख प्रतिपक्षी कांग्रेसले आज सरकारका विरुद्ध देशभर सडक प्रदर्शन गर्दैछ । तनहुँमा पुल उद्घाटनको कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुव्र्यवहार भएको घटनापछि कांग्रेस कार्यकर्ता एकाएक सडकमा आएका थिए । कार्यकर्ता आफैँ सडकमा उत्रिएपछि लगत्तै बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले देशभर एकैसाथ, एउटै नाराका लिएर आज सरकारका विरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।
कांग्रेसले पौडेलमाथि दुव्र्यवहारसहित सर्वसत्तावादी चरित्र देखाएको, भ्रष्टाचार बढेको र प्रधानमन्त्री स्वयं भ्रष्टाचारीको संरक्षणमा लागिपरेको, कोरोना नियन्त्रण र न्यूनीकरणमा बेवास्ता गरेको, जनताको स्वास्थ्य सुरक्षामाथि खेलबाड र महिला हिंसा तथा बलात्कारका घटना वृद्धिजस्ता दर्जनौँ मुद्दा देखाएर विरोध प्रदर्शन गर्दै छ । कांग्रेसले कोरोना संक्रमण फैलिन नदिन भौतिक दूरी कायम गर्दै मास्क लगाएर सडक प्रदर्शन गर्न कार्यकर्तालाई निर्देशन दिएको छ ।
कांग्रेसले ७७ वटै जिल्लाका लागि केन्द्रबाटै नाराहरूसमेत तयार गरेर पठाएको छ ।
कोरोनाका कारण भन्दै कांग्रेसले औपचारिक रूपमा कुनै पनि जिल्लामा प्रतिनिधि पठाएको छैन । तर, शीर्ष नेता र अधिकांश केन्द्रीय सदस्य जिल्ला–जिल्लामा पुगेका छन् । सभापति देउवाले हेटौँडामा हुने विरोध प्रदर्शनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
वरिष्ठ नेता पौडेलले काठमाडौंमा, उपसभापति विमलेन्द्र निधिले भक्तपुर र कोषाध्यक्ष सीतादेवी यादवले ललितपुरको विरोध सभालार्ई सम्बोधन गर्ने कार्यक्रम छ । महामन्त्री डा। शशांक कोइरालाले विराटनगर, सहमहामन्त्री डा। प्रकाशशरण महतले झापा, पूर्वउपसभापति गोपालमान श्रेष्ठले काभ्रे, पूर्वमहामन्त्री प्रकाशमान सिंहले धनुषा, सहमहामन्त्री सुनीलबहादुर थापाले धनकुटा र पूर्वसहमहामन्त्री डा। रामशरण महतले चितवन, अर्जुननरसिंह केसीले कास्की, पूर्वकोषाध्यक्ष चित्रलेखा यादवले सप्तरीमा हुने विरोध सभालाई सम्बोधन गर्ने कार्यतालिका छ ।
कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेल सोमबार मध्याह्न साढे १२ देखि १ बजेसम्म देशभर दश लाख नागरिकले सरकारविरुद्ध सडकमा प्रदर्शन गर्ने दावी गर्नुभयो । उहाँका अनुसार पार्टी केन्द्रीय कार्यालयमा महामन्त्री पूर्णबहादुर खड्का र प्रवक्ता विश्वप्रकाश शर्माले देशभरका कार्यक्रमको समन्वय गर्ने जिम्मा पाउनुभएको छ ।
यता चितवनमा पनि तयारी पुरा भएको सभापति जित नारायण श्रेष्ठले बताउनुभएको छ । दिउसो साँढे १२ बजेटबाट चौविसकोटीबाट विरोध प्रदर्शन सुरु गर्ने र २५ हजार कार्यकर्ताको उपस्थितीमा पुल्चोकमा सभा गर्ने तयारी रहेको छ । कार्यक्रममा कार्यकर्तालाई अनिवर्या उपस्थितीका लागि पनि भनिएको सभापति श्रेष्ठले बताउनुभयो ।आजको सभामा पूर्व अर्थमन्त्री रामशरण महतले सम्वोधन गर्नुहुने विशेष कार्यक्रम रहेको हो