स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको रकम उपलब्ध नहुँदा धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कार्यक्रमका सेवाहरु स्थगन गर्ने जनाएको छ।
प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलका अनुसार बीमाअन्तर्गतको स्वास्थ्य सेवाका उपचार अर्को सूचना नहुञ्जेलसम्मका लागि चैत्र १५ गतेबाट स्थगनको निर्णय भएको हो। सहप्रवक्ता डा. पोखरेलले स्वास्थ्य बीमा गराएका बीमितहरुलाई बहिरङ्ग, आकस्मिक तथा अन्तरङ्ग सेवा अन्तर्गत दिइने सम्पूर्ण सेवा रोकिएको जानकारी दिए।
प्रतिष्ठानका अनुसार स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गतका सेवा उपलब्ध गराएबापत स्वास्थ्य बीमा बोर्डले प्रतिष्ठानलाई करिब २६ करोड रुपैयाँ भुक्तान गर्नुपर्ने अवस्था रहेको छ। प्रतिष्ठानले २०७४ सालको साउनबाट प्रतिष्ठानका स्वास्थ्य बीमाको कार्यक्रम सुरु गरेको हो।
प्रतिष्ठानले बीमा कार्यक्रमको रकम भुक्तानका लागि पटक–पटक पत्राचार गर्दा समेत सुनुवाइ हुन नसकेको जनाएको छ। गत कार्तिक अन्तिम साताबाट स्वास्थ्य बीमा बोर्डले प्रतिष्ठानले दाबी गरेको रकम भुक्तानका लागि मूल्यांकन नगरिदिँदा समस्या उत्पन्न भएको जनाएको छ। सो रकम रोकिँदा प्रतिष्ठानको दैनिक कार्य सञ्चालनदेखि तलब भत्तासमेत उपलब्ध हुन नसकेको सहप्रवक्ता डा. पोखरेलले जानकारी दिए।
प्रतिष्ठानले फागनु १५ गते पनि पत्राचार गर्दै रकम भुक्तानका लागि स्वास्थ्य बीमा बोर्डलाई अनुरोध गरेको थियो। प्रतिष्ठानले चैत्र १४ गतेसम्म रकम उपलब्ध नगराए देखिएका समस्याका लागि छलफल नगरे स्वास्थ्य बीमाको कार्यक्रम अघि बनाउन नसकिने जनाएको छ।

