चितवन,चैत २८ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज (सोमबार) देखि चितवनमा घरदैलो अभियान सुरु गरेको छ । स्थानीय तहको निर्वाचन लक्षित घरदैलो अभियानको औपचारिक सुरुवात गरिएको हो । राप्रपाले निर्वाचन केन्द्रित घरदैलोका लागि चितवनमा रेखा थापा लाई खटाएको छ । केन्द्रको निर्देशन अनुरुप थापाले चितवनमा अभियान सुरु गरेकी छन् । उनले पूर्वी चितवनको कालिका नगरपालिका र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निर्वाचन क्षेत्र पश्चिम चितवनको भरतपुर महानगरपालिकाका विभिन्न वडामा आयोजित कार्यक्रममा सहभागी भएर राप्रपालाई बिजयी गराउन अपिल गरिन् । नेतृ थापाले राप्रपामा जनताको आकर्षण बढेको बताइन् । कालिका नगरपालिकामा आयोजित कार्यक्रममा ५० बढि राप्रपा प्रवेश गरेको थिए ।
यस्तै आजै कालिका नगरपालिका र भरतपुर महानगरपालिकाका विभिन्न वडा कार्यालयको उद्घाटन गरिएको राप्रपा भरतपुर महानगर सचिव सुलभ सिग्देलले जानकारी दिए । उनले आजदेखि निर्वाचन केन्द्रित घरदैलोका कार्यक्रम निरन्तर जारी रहने बताउनुभयो ।
राप्रपाले स्थानीय तहको निर्वाचन केन्द्रीत कार्यक्रम सञ्चालन गर्दा जनजागरणका लागि आफ्नो टोलमा पुगौं भन्ने नारा तय गरेको छ । राप्रपाले निर्वाचन केन्द्रीत कार्यक्रम सञ्चालन गर्न, जिल्ला कार्य समितिको बैठक गराउन, जिल्लाको संगठनात्मक अवस्था, उमेदवार छनौट एवं विभिन्न अभियान सञ्चालनका लागि जिल्ला जिल्लामा केन्द्रीय प्रतिनिधि समेत खटाएको छ ।

