कोरोना जोखिमका कारण स्थगित भएको ‘नेपाल फर्मा एक्स्पो २०२२’ आगामी वैशाख ९ गतेदेखि चितवनमा हुने भएको छ । नेपाल औषधी उत्पादक संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आठौं फर्मा एक्स्पो आगामी वैशाख ९ देखि ११ गतेसम्म चितवनमा हुने जानकारी दिएको हो ।
नेपाली औषधी कम्पनीहरुले उत्पादनमा प्रयोग गर्ने प्रविधि, कच्चा पदार्थ, मटेरियल लगायतका विषयमा जानकारी दिन तथा नयाँ नयाँ प्रविधिकाबारेमा जानकारी गराउन नेपाल औषधी उत्पादक संघले हरेक दुई वर्षमा फर्मा एक्स्पो गर्दै आएको छ । यसपटक सन् २०२१ मै हुने भनेर तय भएको फर्मा एक्स्पो कोरोना संक्रमणको जोखिम बढेपछि केही समयका लागि स्थगित भएको थियो। सोही स्थगित भएको एक्स्पो अब भने वैशाखमा गर्ने तय भएको संघका अध्यक्ष प्रज्वल जंग पाण्डेले जानकारी दिए । उनले नेपालको औषधी उत्पादनलाई अन्तराष्ट्रिय स्तरसम्म पुराउन तथा अझ प्रविधिमैत्री र दक्षता प्रदान गर्न र औषधी प्राविधिक, व्यवसायीमा अन्तराष्ट्रिय ज्ञान आदानप्रदान गर्ने उद्धेस्यले संघले एक्स्पो गर्दै आएको र यसपटक पनि सोही उद्धेश्य अनुरुप एक्स्पोको आयोजना गरिएको बताए ।
एक्स्पोका मिडिया संयोजक तथा संघका उपाध्यक्ष सन्तोष बरालले यसपटक एक्स्पोमा धेरै नयाँ कुुराहरु समावेश गरिएको जनाउँदै १६० वटा स्टल रहने जानकारी दिए । उनले कोभिडका कारण रोकिएको एक्स्पो फेरि हुने निश्चित भएपछि धेरै औषधी व्यवसायी उत्साहित भएको समेत जिकीर गरे । उनले औषधी क्षेत्रमा नयाँ प्रविधिको खोज गरिरहेका १२० बहुराष्ट्रिय कम्पनी र ४० वटा नेपाली औषधी उद्योगहरुले एक्स्पोमा भाग लिने जनाए ।
नेपाल औषधी उत्पादक संघद्धारा आयोजना हुने यस नेपाल फर्मा एक्स्पोको आवद्ध संस्थाहरुमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधी व्यवस्था विभाग, नेपाल फार्मेसी काउन्सिल, नेपाल औषधी व्यवसायिक संघ, नेपाल औषधी थोक व्यवसायी संघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल फर्मास्युटिकल एसोसियसन र नेपाल फार्मेसी संघ रहेका छन्।
चितवनमा हुन लागेको उक्त एक्स्पोमा १५ हजार अवलोकनकर्ताले भ्रमण गर्ने संघले विश्वास लिएको छ ।
एक्स्पोमा जान चाहने व्यक्तिहरुले यो लिंकमा गएर आफ्नो नाम दर्ता गर्न सक्नु हुनेछ।

