साउन १ , काठमाडाैं । आईसीसी पुरुष विश्वकप लिग टूको त्रिकोणात्मक सिरिजमा नेपाल फेरि नामिबियासँग पराजित भएको । स्कटल्याण्डको एयरमा शनिबार राति नेपाल नामिबियासँग ६३ रनले पराजित भएको हो ।
नामिबियाले दिएको २०० रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको नेपाल ३७ ओभर ५ बलमा १ सय ३६ रन जोड्दा अलआउट भयो।नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ३८ रन बनाए । यस्तै आसिफ शेखले ३४ रन जोड्दा आदील आलमले २० रन बनाए ।
रोहित पौडेलले १७ र पवन सर्राफ १० रनमा अविजित रहे ।रोहित पौडेलले १७ र पवन सर्राफ १० रनमा अविजित रहे ।आरिफ शेख ४ रनमा आउट हुँदा देव खनाल र सोमपाल कामीले १/१ रन जोडे ।कुशल भुर्तेल, कप्तान सन्दीप लामिछाने र बसिर अहमेदले खाता खोल्न सकेनन् ।नामिबियाका बेर्नार्ड स्कोल्ट्जले ५ विकेट लिए । जान फ्राईलिंकले ३ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ९९ रन बनाएको थियो ।नामिबियाका लागि कप्तान जेहार्ड एरास्मसले ५३ रनको अर्धशतकीय इनिङ खेले ।यस्तै डेभिड विएसले ३४ रन जोड्दा जेजे स्मिथ र डिभान ला ककले समान २७ रन जोडे ।जान निकोल र रुबेन ट्रम्पेलम्यानले समान १९ रन बनाए ।
नेपालका कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए ।सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले २/२ विकेट लिदा बसिर अहमेदले १ विकेट लिए ।
यससँगै नेपाल जारी सिरिजमा नामिबियासँग लगातार दोस्रो खेलमा पराजित भएको छ । सिरिजको पहिलो भेटमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो ।सिरिज अन्तर्गत नै नेपालले अन्तिम खेलमा भोलि आइतबार स्कटल्याण्डविरुद्ध खेल्नेछ ।सिरिजकै पहिलो भेटमा नेपालले स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो ।
नेपाल लिग टू को अंक तालिकाको छैटौं स्थानमा झरेको छ । नेपालले १९ खेलमा १७ अंक जोडेको छ ।नामिबिया १८ खेलमा १८ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ ।

