काठमाडौँ, भदौ ५ : वीर अस्पतालमा एक महिलाको पित्त थैली पत्थरीको शल्यक्रिया गर्दा दाँत भाचिएको छ । पत्थरीको शल्यक्रिया गर्न गएकी नुवाकोटकी ५० वर्षीया राधिका ओझाको तीनवटा दाँत भाचिएको हो । उनी साउन ३० गते पत्थरीको शल्यक्रिया गर्न वीर अस्पतालमा भर्ना भएकी थिइन् ।
शल्यक्रिया गर्दा दाँत भाचिएको उक्त विषय हाल सामाजिक सञ्जालमा चर्चामा रहेको छ र ओझोको आफन्तहरुले पनि चिकित्सकले उपचारमा लापरवाही गरेको आरोप लगाएका छन् । तर उपचारमा संलग्न चिकित्सक तथा अस्पताल प्रशासनले भने वास्तविकता नबुझी यसलाई ‘इस्यू’ बनाइएको गुनासो गरेका छन् । प्रशासनका अनुसार शल्यक्रियाबाट बिरामीको पत्थरी झिकिसकिएको र अब दाँतको पनि उपचार अस्पताल गर्ने छ ।
त्यस्तै अस्पतालका प्रमुख डा.भुपेन्द्र बस्नेतले चिकित्सकले लापरवाही नगरेको र अप्रेशन गर्दा आइपर्ने जोखिम कम गर्न खोज्दा यस्तो घटना भएको बताउँछन् । उनका अनुसार पित्तथैलीको अप्रेसन गर्दा बेहोस बनाउने क्रममा मुखबाट श्वासनलीमा पाइप राखी भेन्टिलेटरबाट कृत्रिम सास फेराउने प्रक्रिया गर्नुपर्छ र त्यसका लागि घाँटीबाट पाइप हाल्नुपर्छ । तर बिरामीको घाँटीको बनावट असहज भएकाले पाइप हाल्ने क्रममा यस्तो घटना भएको हुन सक्छ ।

