नेपाली राष्ट्रिय क्रिकेट टिमका क्याप्टेन सन्दीप लामिछानेविरुद्ध बलात्कारको जाहेरी परेको छ। प्रहरी वृत्त गौशालामा एक १७ वर्षिया नाबालिगको परिवारले लामिछानेविरुद्ध जाहेरी दिएका हुन्।
जाहेरीमा स्न्यापच्याटमार्फत सम्पर्कमा आएका सन्दीपले भेट्न बोलाएर नगरकोट लगेर मद्यपान गराएर मध्यरात गौशाला क्षेत्रको एक होटेलमा राखेर बलात्कार गरेको उल्लेख गरिएको स्रोतले भन्यो।
भदौ ५ मा भएको भनिएको घटनाबारे प्रहरीले जाहेरी दर्ता गरेर नाबालिगको स्वास्थ्य परीक्षण समेत गरिसकेको स्रोतले जानकारी दियो।
जानकारस्रोतका अनुसार ती किशोरी होस्टलमा बस्दै आएकी थिइन्। उनी सन्दीपको फ्यान भएकाले स्न्यापच्याटमा जोडिएकी थिइन्। सन्दीपले भेट्न स्वीकार गरेपछि कफी खान होस्टलबाट निस्किए पनि सन्दीपले कर गरेर नगरकोट पूर्याएको जाहेरीमा दाबी गरिएको छ।
सन्दीप अहिले नेपालमा छैनन्। उनी राष्ट्रिय टिमको नेतृत्व गरेर केन्या पुगेका छन्। जाहेरी अनुसार घटना भदौ ५ मा भएको हो। उनी भदौ ६ मा केन्या गएका हुन्।

