घरेलु टिम पाकिस्तानले इंल्ग्यान्डसँगको टी- ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेट सेरिजको पाँचौँ खेलमा जित निकालेको छ । बुधबार राति भएको खेलमा पाकिस्तानले इंग्ल्यान्डलाई ६ रनले हराएको हो ।
१ सय ४६ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १ सय ३९ रन मात्रै बनाउन सक्याे ।
इंग्ल्यान्डका कप्तान मोइन अलीले अविजित ५१ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । त्यस्तै, डभिड मलानले ३६ रन बनाए । बलिङतर्फ पाकिस्तानका हरिस राउफले दुई विकेट लिए ।
यसअघि गद्दाफी क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभरमा सबै विकेटको क्षतिमा १४५ रन बनाएको थियो । पाकिस्तानका ओपनर ब्याटर मोहम्मद रिजवानले ४६ बलमा ६३ रन बनाए । त्यस्तै, इफ्तिखर अहमदले १५ र आमर जमालले १० रन बनाए ।
पाकिस्तानका तीन जना ब्याटरबाहेक अन्य खेलाडीले दोहोरो अंक पनि बनाउन सकेनन् । इंग्ल्यान्डका मार्क वोडले तीन विकेट लिए । यो जितेसँगै इंग्ल्यान्डविरुद्ध पाकिस्तानले सात खेलको टी-ट्वेन्टै अन्तर्राष्ट्रिय सेरिजमा ३-२ ले अग्रता बनाएको छ ।

