काठमाडौँ, असोज २५ : मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीभित्र शक्तिमा रहेका नेताहरूले आफ्ना नातेदारलाई सांसद सुनिश्चित हुने गरी समानुपातिकतर्फ उम्मेदवार बनाएका छन् । उनीहरूले प्रत्यक्षतर्फ समेत आफ्ना नातेदारका लागि सिट व्यवस्थापन गरेर टिकट दिलाएका छन् । २०७४ को निर्वाचनमा मोरङ ६ (क) मा कांग्रेसका उम्मेदवारसँग पराजित माओवादी केन्द्रका जीवन आचार्यलाई पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि टिकट दिलाए । आचार्य प्रचण्डका छोरी–ज्वाइँ हुन् ।
यस पटक पाँचदलीय सत्ता गठबन्धनबीच २०७४ को निर्वाचनमा जितेको स्थानमा सोही दललाई प्राथमिकता दिएर भागबन्डा गर्ने भद्र सहमति भएको थियो । तर, दाहालले आफ्ना ज्वाइँका लागि मोरङ ६ (१) माओवादी केन्द्रको भागमा पारे । दाहालकै इच्छा पूरा गर्न कांग्रेसले आफ्ना उम्मेदवारलाई प्रतिनिधिसभाको बन्दसूचीमा थारू क्लस्टरमा २ नम्बरमा राखेको छ ।
प्रचण्डको परिवारमा ज्वाइँसँगै बुहारी बिना मगर प्रतिनिधिसभाकी उम्मेदवार बनेकी छन् । उनले सत्ता गठबन्धनका तर्फबाट कञ्चनपुर–१ मा उम्मेदवारी दिएकी छन् । दाहाल भने गोरखा–२ बाट चुनाव लड्दै छन् । माओवादी सशस्त्र युद्धका बेला सेनाले गिरफ्तार गरी मगरलाई महाराजगन्जस्थित भैरवनाथ गणमा चरम यातना दिएको थियो ।
अर्का उपमहासचिव वर्षमान पुन दम्पतीले प्रत्यक्षतर्फ टिकट पाएका छन् । पुन रोल्पाबाट र उनकी श्रीमती ओनसरी घर्ती काठमाडौं–२ बाट उम्मेदवार बनेका छन् । घर्ती पूर्वसभामुखसमेत हुन् । उनीहरू माओवादी सशस्त्र युद्धमा सुरुदेखि सामेल थिए ।
नातेदारलाई सांसद बनाउन नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आफ्नो परम्परागत क्षेत्र नै गुमाएका छन् । माओवादी अध्यक्ष दाहालले मनोनयन दर्ता गरेको गोरखा–२ भट्टराईको निर्वाचन क्षेत्र हो । पछिल्लो समय नेपाल समाजवादी पार्टी गठन गरे पनि माओवादी केन्द्रको चुनाव चिह्न लिएका भट्टराईकै प्रस्तावमा दाहाल गोरखा पुगेका हुन् । त्यसबापत उनकी छोरी मानुषी यमी भट्टराईले काठमाडौं–७ पाएकी छन् । मानुषी अखिल क्रान्तिकारीका तर्फबाट त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु सभापति भइसकेकी हुन् ।
कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको परिवारमा पनि ३ जना उम्मेदवार बनेका छन् । देउवाले आफ्नो परम्परागत क्षेत्र डडेलधुराबाट मनोनयन दर्ता गरेका छन् भने उनकी श्रीमती केन्द्रीय सदस्य आरजु देउवा समानुपातिक बन्दसूचीको खसआर्य (महिला)तर्फ ३ नम्बरमा छिन् । आरजुले आफू समानुपातिक बसेर कैलाली ५ को प्रदेशसभा (ख) मा स्वकीय सचिव प्रकाश देउवालाई टिकट दिलाएकी छन् । प्रकाश सभापति देउवाका भतिजा हुन् । उक्त क्षेत्रमा केन्द्रीय सदस्य जीवन राना थारू, प्रदेश महामन्त्री नरनारायण शाह ‘मनु’ लगायत नेताहरू आकांक्षी थिए ।

