युरोपियन च्याम्पियन्स लिगमा इजिप्टियन फरवार्ड मोहम्मद सलाहले कीर्तिमानी ह्याट्रिक गरेको खेलमा लिभरपुलले रेन्जर्सलाई ७-१ ले पराजित गरेको छ। लिभरपुलले स्कटिस क्लबमाथि निरन्तर गोल गर्दा सलाह ′सब्सटिच्युट′ खेलाडीको रूपमा मैदान छिरेका थिए।
दोस्रो हाफमा मैदान प्रवेश गरेका सलाहले पहिलो गोल गरेको ६ मिनेट १२ सेकेन्ड भित्र ह्याट्रिक पुरा गर्दै च्याम्पियन्स लिगमा सर्वाधिक छिटो ह्याट्रिक गर्ने कीर्तिमान बनाए।
६८औँ मिनेटमा डार्विन नुनेजको स्थानमा मैदान छिरेका सलाहले ७५औँ मिनेटमा डियोगो जोताको पासमा पहिलो गोल गर्दा ८० र ८१औँ मिनेटमा लगातार दुई गोल गर्दै सर्वाधिक छिटो ह्याट्रिक पुरा गर्ने कीर्तिमान बनाए।
सबै तीन गोलको असिस्ट जोताले नै गरेका थिए। यसअघि सबैभन्दा छिटो ह्याट्रिक गर्ने कीर्तिमान फ्रेन्च क्लब लियोनका खेलाडी बाफेटिम्वी गोमिसको नाममा रहेको थियो। उनले सन् २०११ मा डिनामो जाग्रिवविरुद्ध ७-१ को जितमा ८ मिनेटको अन्तरमा ह्याट्रिक पूरा गर्दै कीर्तिमान बनाएका थिए।
त्यसअघि लिभरपुलका लागि रोबर्टो फिर्मिनोले दुई तथा डार्विन नुनेजले अर्को एक गोल गरेका थिए। सातौं गोल भने हार्वे एलिएटले गरेका थिए। घरेलु टोलीका स्कट अर्फिल्डले एक गोल गरेका थिए।
आइब्रक्स स्टेडियम ग्लास्गोमा १७औँ मिनेटमा लिभरपुलविरुद्ध अर्फिल्डले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। तर त्यसपछि लिभरपुलले गोल वर्षा गरेको थियो। २४औँ मिनेटमा रोबर्टो फिर्मिनोले गोल गर्दै खेललाई ११ गोलको बराबरीमा ल्याए।
५५औँ मिनेटमा फिर्मिनोले जोसेप गोमेजको पासमा व्यक्तिगत र टिमका लागि दोस्रो गोल गर्दा ६६औं मिनेटमा फिर्मिनोको पासमा डार्विनले गोल गर्दै लिभरपुललाई सहज जिततर्फ अघि बढाए। त्यसको एक मिनेटपछि सलाहले जोटाकै ह्याट्रिक असिस्टमा ह्याट्रिक पूरा गरेपछि लिभरपुलले खेलमा ६-१ को आरामदायी स्थितिमा अघि रह्यो । त्यसपछि ८७औं मिनेटमा हार्भे एलिओटले अर्को एक गोल थपेका थिए।
जितसँगै लिभरपुल समूह ‘ए’ मा ९ अंक जोडेर नकआउट चरण नजिक पुगेको छ। पराजित रेन्जर्स अंकविहीन हुँदै पुछारमा छ।
यही समूहको अर्को खेलमा डच क्लब आयाक्सलाई ४-२ ले हराएर इटालियन क्लब नेपोली समूह चरणको दुई खेल बाँकी छँदै खेलेको सबै चार खेलमा जितसहित प्रि-क्वाटरफाइनलमा प्रवेश गरेको छ।
नेपोलीको जितमा हिर्भिङ लोजानो, जियाकोमो रास्पडोरी, कभिचा केभाराटकेलिया र भिक्टर ओसिमहेनले एक-एक गोल गरे। आयाक्सका डाभी क्लासेन र स्टेभन वर्गवाइनले एक-एक गोल फर्काए।

