आगामी ४ मंसिरबाट सुरु हुने फिफा विश्वकपका लागि जर्मनीले राष्ट्रिय टिमको घोषणा गरेको छ। ४ पटकको विश्व च्याम्पियन तथा जारी संस्करणमा पनि उपाधि दाबेदार मानिएको जर्मनीले विश्वकपका लागि अन्तिम टोलीको घोषणा गरेको हो।
प्रशिक्षक हान्सी फ्लिकले मिडफिल्डर मारिओ गोट्जेसँगै युवा फरवार्ड युसुफा मौकोकोलाई टोलीमा समेट्द अनुभवी डिफेन्डर म्याट्स हमल्सले भने टोलीमा स्थान बनाउन असफल रहे। युवा फरवार्ड करीम एडेयेमी, जमाल मुसियाला र डिफेन्डर आर्मेल बेला कोच्यापले पनि अन्तिम टोलीमा पर्न सफल भए।
चोटका कारण फरवार्ड टिमो वेर्नर र मिडफिल्डर मार्को रिउस टोलीमा पर्न असफल भए। विश्वकपमा समूह ई मा रहेको जर्मनीले स्पेन, कोस्टारिका र जापानसँग प्रतिस्पर्धा गर्ने छ। आफ्नो पहिलो खेलमा जर्मनीले २३ नोभेम्बरमा जापानसँग खेल्नेछ।

