चितवन स्थित भरतपुर अस्पतालले पनि हालै मात्र एमआरआई खरिदको प्रक्रिया अगाडि बढाइसकेको छ। अस्पतालले इस्टवेस्टसँगकै सेटिङमा ३० करोड रुपैयाँमा एमआरआई खरिद गर्न लागिएको स्रोत बताउँछ। स्रोतका अनुसार अस्पतालका निर्देशक डा कृष्ण पौडेल र अस्पतालमा कार्यरत रेडियोलोजिष्ट डा केशव पौडेलले इस्टवेस्टसँगको मिलेमतोमा सिमेन्सलाई मात्र मिल्ने गरी स्पेसिफिकेसन बनाएका छन्। डा केशव पौडेलको चितवनमा रहेको मेट्रो इमेजिङमा इस्टवेस्टको समेत लगानी रहेको बताइएको छ।
‘सिमेन्सको एमआरआईलाई मात्र मिल्ने गरी स्पेसिफिकेसन बनाइएको छ। निर्देशक र रेडियोलोजिष्टको स्वार्थमा सिमेन्सलाई मिल्ने गरी स्पेसिफिकेसन बनाइएको हो,’ स्रोतले भन्यो, ‘नयाँ मोडलको लागत तयार पारेर पुरानो मोडलको एमआरआई ल्याउन लागिएको छ। यसमा कारोडौंको खेल छ।’
भरतपुरले थ्री टेस्लाको ७० सेन्टिमिटर बोरसाइज र ६४ च्यानल क्षमताको एमआरआई खरिदको प्रक्रिया अगाडि बढाएको हो।
इस्टवेस्टले नै सोही कम्पनीको थ्री टेस्ला र ७० सेन्टिमिटर नै बोर साइज भएको तर च्यानल भने ३२ क्षमताको एमआरआई निजामती अस्पतालमा २२ करोड ७४ लाखमा उपलब्ध गराउन लागेको छ।
दुवै अस्पतालले उपकरणका लागि तयार पारेको स्पेसिफिकेसनमा अधिकांश विवरणहरु समान छन्। यहाँसम्मकी विवरणमा एउटा अस्पतालले नम्बरहरु राख्ने क्रममा गरेको गल्ती अर्को अस्पताललमा पनि त्यस्तै छ। स्पेसिफिकेसनका भाषाहरु पनि उस्तै छन्।
‘दुवै अस्पतालको स्पेसिफिकेसन हेर्दा अधिकांश महत्त्वपूर्ण बुँदाहरु उस्तै छन्। केहीमा फरक देखाउन खोजिएको छ। तर, त्यसले मूल्यमा खासै फरक देखाउँदैन,’ उनले भने, ‘ती सबै बुँदाहरु झुक्याउनका लागि राखिएका र मूल्यमा चलखेल गर्न राखिएका हुन्। दुवै अस्पतालका उपकरण उस्तै र एउटै हुन्।’
यसरी एकै किसिमका उपकरण खरिदमा ८ करोड सम्मको भिन्नता देखिनुमा भ्रष्टाचारको आशंका गर्न सकिने प्रशस्त श्रोत रहेको श्रोत बताउँछ र अख्तियारको अनुगमन हुनुपर्नेमा पनि जोड दिएको छ।
कहाँ कति क्षमता र मूल्यका एमआरआई?

समाचारको श्रोत : रिता लम्साल/ स्वास्थ्यखबर

