शिलापत्र डटकमले स्थापनाको पाँचौँ वार्षिकोत्सव मनाएको छ । २७ माघ २०७५ देखि औपचारिक सञ्चालनमा आएको मल्टिमिडिया प्लेटफर्म शिलापत्रले बुद्धनगरस्थित कार्यालयमा आफ्नै टिमका माझ शुभकामना आदानप्रदान गरी वर्षगाँठ मनाएकाे हाे ।
वार्षिकोत्सवकाे अवसरमा ‘केक’ काट्दै शिलापत्र मिडिया नेटवर्कका अध्यक्ष सुरेश सिम्खडा, प्रबन्ध निर्देशक विनय खकुराल र सम्पादक जनक नेपालले निर्भीक र स्वतन्त्र पत्रकारितालाई प्रवर्द्धन गर्दै शिलापत्र अघि बढ्ने प्रतिबद्धता जनाए । शिलापत्रले आगामी दिनमा आमसरोकारका मुद्दाहरूमा अझ प्रभावकारी सामग्री पस्किनेमा उनीहरूको जोड थियो ।
‘धेरै सञ्चारमाध्यमको भिडमा हामी फरक हुनेछौँ’, अध्यक्ष सिम्खडाले भने, ‘यसका लागि हामीले काम पनि अरुभन्दा फरक अनि प्रभावकारी गर्नुपर्ने हुन्छ ।’
सिम्खडाले निष्पक्ष र निर्भीक पत्रकारितालाई आफूले सधैँ प्रोत्साहन गर्ने बताए । ‘हाम्रो लक्ष्य पनि विश्वसनीय एवं सन्तुलित समाचार सामग्री पस्किएर व्यावसायिक पत्रकारितामा टेवा पुर्याउनु नै हो’, उनले भने ।
सम्पादक नेपालले त्यसका लागि आफू नेतृत्वको टिम तयार रहेको बताए । ‘ताजा समाचार, विविध विचार र वस्तुनिष्ठ विश्लेषण हाम्रो प्राथमिकताका विषय हुनेछन्’, उनले भने ।
व्यावसायिक पत्रकारिताका चार वर्ष सफलतापूर्वक पूरा गरी शिलापत्र डटकम आजदेखि पाँचौँ वर्षमा प्रवेश गरेको हो ।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले पनि शिलापत्रलाई शुभकामना सन्देश पठाएका छन् । शिलापत्र डटकमको पाँचौँ वार्षिकोत्सवका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री दाहालले गणतन्त्रलाई संस्थागन गर्नुपर्ने चुनौती चिर्न शिलापत्र डटकमलगायत मिडियाले सहयोग गर्नुपर्ने बताए ।

