चितवन,जेठ ३० : चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले विभिन्न माग राखेर ताला लगाएको एक महिना पुग्यो । विश्वविद्यालयको केन्द्रीय कार्यालय, कृषि संकाय लगायतका निकायमा विद्यार्थीहरूले लगाएको ताला नखुल्दै माओवादी निकटकै नेपाल राष्ट्रिय कर्मचारी संगठनको अगुवाइमा जेठ १२ गतेदेखि विश्वविद्यालयमा अर्को ताला थपियो ।
विभिन्न १२ बुँदे माग राखेर आन्दोलन गरेका उनीहरुले विश्वविद्यालको केन्द्रीय कार्यालयको मूल गेटमा नै ताला लगाएका छन् भने विश्वविद्यालयका पदाधिकारीहरुका सवारी साधनलाई कार्यालय चल्न नदिई भित्रै राखेका छन् ।
विश्वविद्यालको केन्द्रीय कार्यालय, संकाय बन्द गरिए पनि परीक्षा नियन्त्रण कार्यालय भने खुला नै थियो । विद्यार्थीहरुको परीक्षा र पढाइ सम्वन्धी कामकाज रोक्न नहुने भन्दै आन्दोलनकारीहरूले परीक्षा नियन्त्रण कार्यालय भने खोल्न दिएका थिए ।
अखिल क्रान्तिकारीले ताला लगाएको ठिक १ महिनापछि स्थानीयले विश्वविद्यालयमा अर्को ताला थपे । योसहित विश्वविद्यालयमा तालाबन्दीको संख्या ३ पुगेको छ ।
विभिन्न ७ सूत्रीय माग राखेर भरतपुर महानगरपालिका वडा नं। १५ र १६ का केही स्थानीयहरु आएर विश्वविद्यालयमा तालावन्दी गरिदिएपछि परीक्षा नियन्त्रण कार्यालयबाट हुने कामकाजसमेत ठप्प भएको छ ।
स्थानीयले श्याम अधिकारीको नेतृत्वमा कृषि तथा वन विश्वविद्यालय सुधारको लागि पहल समिति गठन गरेका छन् । सधैं बन्द हड्ताल भएर विश्वविद्यालयलाई बदनाम गर्ने र वन्धक बनाउने कामको विरोध स्वरुप आफूहरुले तालाबन्दी गरेको संयोजक अधिकारीले बताए ।

