–रामशरण गैरे
कहिले काँही त लाग्छ
म त झोले नै रहेछुँ क्यारे ?
म मेरो नेताले जे गरे पनि
ठीक ग¥यो भन्छु ।
ए भ्रष्टाचार गर्छ।
म होइन भन्छु ।
ऊ नाङ्गिए पनि म सजिएको देख्छु ।
ऊ तुच्छ बोल्छ म वाह वाह भन्छु।
ऊ मलाई नै मूर्ख भन्छ
म मूर्ख नै बन्छु ।
यसैले त लाग्छ म झोले हुँ ।
लाग्थ्यो मलाइ
मैले बोकेको झोलामा,
सिद्धान्त र विचार छ ।
जगत् र वर्गलाई हेर्ने दृष्टिकोण छ।
समाजलाई फेर्ने दृष्टिकोण छ।
धर्म कला साहित्य र संस्कृतिलाई
बुझ्ने ऐतिहासिक भौतिकवादी दृष्टिकोण छ।
तर म गलत रहेछु,
सर्वहाराको उन्मुक्ति तथा वर्गीय चेतना,
आर्थिक समानता र राजनैतिक अधिकार,
एवम बुर्जुवावर्गलाई पेलेर
सर्वहाराको राज्य स्थापना गर्ने परिकल्पना
आदिलाई वरिपरि राखेर लक्ष्य बनाएर
बिचारको झोला बोकेको थिए मैले
म त फगत नेताको पुच्छर वनेछुँ ।
.
उसले हल्लाउँदा हल्लिन्छु, बटार्दा बटारिन्छु ।
न त केही पाउनु छ।
मेरो नेताले केही पाउँदा
यत्तिकै खुसी हुन जानेको छु ।
नेता ओरालो लाउँदा
आफैँले केही गुमाउने त होइन
तर पनी खै किन हो दुःखी हुन्छ मन?
पार्टीका घोषणापत्र होइन
नेताका भाषण सुनेर उचालिन्छछु
र सामाजिक सञ्जालमा
अनायासै विरह पोख्छु ।
नेताले भुटेको दिमाग अनुसार
सामाजिक सञ्जालमा प्रकट हुन्छ
खुसी, उमङ्ग, आवेश, आक्रोश,
कुण्ठा र दम्भ पोखेर
र सेलाउँछ लाइक र कमेन्ट गनेर ।
.
ति दिनहरू कती रोचक थिय
आम सभा, नारा–जुलुस,
भित्ता भरी सर्वत्र रातै हुन्थ्यो ।
हँसिया हथैडाको चिह्नले
वर्गीय मुक्तिका नाराहरूले
चारैतिर ढाकेको हुन्थ्यो ।
.
जीवनभरि यस दलमा
काम गरेका आदर्श व्यक्तिहरू
पनि पुजित हुन्थे ।
अब कहाँ गए ती नाराहरू,
राता राता भित्ताहरू,
मुक्तिका कामनाहरू,
शोषणका विरोधहरू ?
समानताको नारा लाउनेहरू
पूँजीको स्वादमा फँसेर
ति नारा बिर्सेर सत्तासीन भइरहेका छन् ।
.
उस्तै छ जनता सर्वहारा!!
एकसरो कपडा र एकजोर जुत्तामा
सर्वहारा वर्गको मुक्तिको निम्ति
उत्पीडित जनताको उत्थानको निम्ति
समानता र न्यायको विगुल फुक्दै
क्रान्तिमा होमिएका कमरेडहरु
खै अचेल कहाँ छन?
.
खै कहाँ हराए न्याय र समानताको राँको?
खै कहाँ निभ्यो क्रान्तिको मसाल?
खै कहाँ छ सुकुम्बासीको लालपुर्जा?
खै कहाँ छ सर्वहारा वर्गको उत्थान?
खै कहाँ छ उत्पीडित जनताको पहिचान?
फेरिए कमरेडहरुका जुत्ता र कपडा
फेरिए तिनका झुपडी र रवाफ
फेरिए तिनका समय काल परिस्थिति
फेरिए व्यवस्था तर उस्तै छ देशको अवस्था
फेरिए तिनका आहारा
कठै ! उस्तै छ जनता सर्वहारा!!
.
तर पनी गरीबका समानाधिकार,
समानता आदिको सिद्धान्तलाई
भने त्यागेको भन्न सकेका छैनन् ।
लाशलाई जुम्राले छोडे जस्तै
छाड्दै छन् स्वार्थी कार्यकर्ताहरु
दलबाट फाइदा लुट्नुसम्म
लुटेर छाडेका छन् ।
कसरी गरीब मुक्ति, समानता,
भातृत्वको आदर्शलाई भुले ?
कसरी आफूलाई संरक्षण दिने
आफ्नो प्यारो दललाई बिर्से ?
स्वार्थका निम्ती पार्टी फोर्दै हडिेकाछन ।
ती जुलुसहरूमा हिंड्नेहरू कहाँ हराए ?
कार्ल माक्र्सका सिद्धान्तलाई
कहाँ थन्क्याए ?
.
खासमा म एक भोटबाहेक
मेरो ठुलो औकात छैन।
नेताबाट लाभ उठाउँछु
भन्ने मभित्र पनि भ्रम छ,
त्यही झोलेपनको आडमा
सर्वज्ञानी, सर्वमानी र सम्पन्नशाली बनेको छु ,
र त आज ठोस अडान नभएको
जता ढल्कायो उतै ढल्किने
मैले मेरो जवानीलाई
यही नेताको अघिपछि खर्च गरे ।
गरिबको लागि भनेर राजनीति गर्नेहरु
आज करोडौका चिल्ला गाडीमा
कालो सिसा लगाएर
तिनै गरिबका झुपडीमा धुलो उडाउँदै
लाजै नमानी हिँड्न सकेका छन् ।
मुखले जति समाजवादी भने पनि
यो सरकार चरम पूँजीवादी एलिटहरुको
वर्गीय प्रतिनिधित्व गर्ने
सरकारकै रुपमा देखिएको छ ।
ठूलाठूला घोटालामा आँखा चिम्लने,
अरबौका खेलहरुमा रमाउने
तर गरिब किसान, मजदुर,
आदिबासी जनजाति, उत्पीडितहरुको लागि
सिन्को पनि भाँच्न नसक्ने,
सरकार समाजवादी बाटोमा हिँडेको छ
भनेर कसरी पत्याउने ?
.
अझै समाजका कुनाकुनामा
रहेका ज्ञात–अज्ञात शोषित–पीडितका
आवाजलाई गति दिन
अहिले पनि आवश्यकता छ ।
अझै पनि सर्वहारा र बुर्जुवा,
शोषित र शोषकको बीचको
अन्तराल घटेको देख्दीन म।
धनी र गरीबको खाल्डो
पुरिएको छैन । नयाँनयाँ
विकसित पूँजीवादलाई
ठेकान र तह लाउने
साम्यवाद अझै चाहिन्छ ।
समाजलाई साम्यवादको
पाठ सिकाइरहन
प्रगतिवाद अझै लेखिनु पर्छ ।
अझै पनि वर्गीय मुक्तिको
आन्दोलनलाई तताइराख्न पर्छ,
अझै जनचेतनामा क्रान्तिको
झिल्को फिलुङ्गो
छरेर विद्रोह गर्नु छ ।
निर्विघ्न जागेको पूँजीवादलाई
नियन्त्रण र रोकथाम गर्न जरुणी छ।
साम्यवादी धारको पनि आवश्यकता पर्छ ।
अहिले पनि वर्गसङ्घर्षको आवश्यकता छ ।
नयाँ काँचुली फेरेको नवपूँजीवादलाई
नव माक्र्सवादका नयाँनयाँ धार र
चिन्तनले लगाम कस्न जरुणी छ।
गुञ्जनगर,चितवन