नवलपरासी । गत माघ ८ गते नवलपरासीको रामग्राम नगरपालिका–९, पिपरहिया र जोकवारी सडकखण्डमा हत्या गरी फालिएको अवस्थामा भेटिएका विजय चौधरीको हत्यारालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका ६ जना छन् । चौधरीको हत्यामा रामग्राम नगरपालिका–५, ड्राइभर टोल बस्ने ३७ वर्षीय राजु साह भनिने मञ्जुर आलम देवान र उनकी श्रीमती ३५ वर्षीया हदिसुन नेसासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिका वडा नं–१, उच्डीहवा नागरिकतामा ठेगाना रहेको र हाल काठमाडौँ महानगरपालिका वडा नं–२७, असनमा भाँडाबर्तन एवम् हार्डवेयर व्यवसाय गर्ने ३५ वर्षीय विजय चौधरीको हत्या भएको थियो । शव सडककिनारामा लगी फालिएको अवस्थामा भेटिएको थियो । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार विजयको साथमा रहेको २० लाख रूपैयाँ लुटपाट गर्ने उद्देश्यले उनको हत्या गरिएको थियो ।
हत्यालगत्तै मुख्य योजनाकार मञ्जुर आलम देवान र उनकी श्रीमती हदिसुन नेसा भारत फरार भएका थिए । उनीहरुलाई पश्चिम नवलपरासी प्रहरीले भारतीय प्रहरीको समन्वयमा पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–१, महेशपुर नेपाल–भारत सीमानजिकैबाट २५ माघका दिन पक्राउ गरेको थियो ।
पक्राउ परेका ६ जनालाई नै प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा आलम देवान, उनकी श्रीमती हदिसुन नेसा, देवानकी दिदी रामग्राम नगरपालिका–२ निवासी ४२ वर्षीया शारदादेवी केवट, भिनाजु वसन्तकुमार सहानी, काठमाडौँ–२९ निवासी ५० वर्षीय तलत अलि खान र रौतहटका ४१ वर्षीय जीतबहादुर श्रेष्ठ छन् ।

