चितवनको भरतपुर महानगरपालिकामा स्वतन्त्र (बागी) उम्मेदवारी दिएका नेपाली कांग्रेस नेता एवम् पूर्व सांसद जगन्नाथ पौडलको उम्मेदवारी फिर्ता लिन गठबन्धनले पहल गरिरहेको छ।
गृहमन्त्रीसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाका विश्वासपात्र बालकृष्ण खाण पौडेलको उम्मेदवारी फिर्ताको ‘पहल गर्न’ भरतपुरमै रहेका बेला अर्का मन्त्री पनि चितवन आएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ बिहीबार बिहान भरतपुर आएका हुन्।
भरतपुर आएलगत्तै राज्यमन्त्री श्रेष्ठ बागी उम्मेदवार पौडेललाई भेट्न उनको निवास पुगेका छन्। भरतपुर-७ कृष्णपुरस्थित निवासमा राज्यमन्त्री श्रेष्ठले पौडेलसँग छलफल गरेका हुन्।
श्रेष्ठले उम्मेदवारी फिर्ता लिन आग्रह गरेको भए पनि पौडेलले भने चितवनमा कांग्रेस बचाउन आफ्नो उम्मेदवारी रहेको र फिर्ता लिन नसक्ने बताएको स्रोतको भनाइ छ।
यसअघि देउवाको ‘दूत’ बनेर चितवन आएका खाणले असन्तुष्टलाई सम्झाउन आफू चितवन आएको बताएका थिए।

