आज फेब्रुअरी १४ अर्थात् भ्यालेन्टाइन डे । गुलाफ फूल दिएर माया साटासाट गर्ने दिन । कोरोनाको कहरका कारण भ्यालेन्टाइन डेको रौनक त खासै छैन, तथापी युवायुवतीको भरतपुर तथा नारायणगढका विभिन्न पसलहरुमा गुलाफ खरिदको लागि भीड नै लागिरहेको छ । नेपाल फ्लोरिकल्चर एशोसिएसन चितवनका कोषाध्यक्ष सुलभ श्रेष्ठले आयातीत गुलाफ फूलको भरमा भ्यालेन्टाइन डे चलेको बताए ।
उनले भने, ‘चितवनमा गुलाफ फूलको उत्पादन छैन, विगतका वर्षहरुमा न्यूनमात्रामा चितवनमा गुलाफको फूल उत्पादन भएको थियो, यो वर्ष एउटा स्टिक पनि चितवनमा उत्पादन भएको छैन ।’ चितवनमा भ्यालेन्टाइन डेको लागि १५ लाख गुलाफ फूल भित्रिएको उनी बताउँछन् । उनले भने, ‘चितवनमा एउटा गुलाब फूल उत्पादन भएको छैन यो वर्ष । १५ लाख गुलाफ फूल भारतीय बजारबाट आइरहेको छ । आयातीत गुलाफ फूलकै भरमा यहाँ भ्यालेन्टाइन चलिरहेको छ ।’
फेब्रुअरी ७ बाट १४ सम्मलाई प्रेम सप्ताहको रुपमा मनाउने गरिन्छ । प्रेमीप्रेमिकाहरुले एकअर्कालाई प्रेमको प्रतीकको रुपमा रातो गुलाफ दिएर प्रेम दर्शाउने गर्दछन्, तर चितवनमा भने यसको उत्पादन शून्य छ । हाल बजारमा प्रतिगोटा गुलाफको मूल्य ८० देखि १ सय रूपैयाँसम्म पर्ने गरेको छ ।

