पूर्वअर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा. रामशरण महतले एमसिसी राष्ट्रिय हितमा रहेकाले कुनै पनि हालतमा पारित गर्नुपर्ने बताएका छन्।
मंगलबार नयाँबानेश्वरस्थित संसद् भवनमा आयोजित संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमसिसीका बारेमा गलत आलोचना गरेर शक्तिशाली र सहयोगी राष्ट्रसँगको सम्बन्धमा दखल गर्न खोजिएको आरोप लगाए।
नेता महतले एमसिसी पारित गरे राष्ट्रको आर्थिक वृद्धि हुने, रोजगारीका अवसर बढ्ने र पूर्वाधारको विकास हुने पनि बताए।
उनले एमसिसीका बारेमा अमेरिकी सेनासँग सम्झौता हुने लगायतका भ्रमपूर्ण प्रचार गरिएको भन्दै एमसिसी नेपालको कानुनअनुसार सम्झौता गरिएको स्पष्ट पारे। उनले बिआरआई र इण्डो-प्यासिफिक रणनीतिसँग एमसिसीको कुनै सम्बन्ध नरहेको र एमसिसी सहयोग कुनै पनि मुलुकको हितविपरीत नभएको दाबी गरे।
‘एमसिसी राष्ट्रको हितमा छ। यसलाई गलत चर्चा र भ्रमपूर्ण आलोचना गरेर यसलाई रोक्नु राष्ट्रको हित विपरीत हुन्छ। अमेरिका जस्तो शक्तिशाली राष्ट्र र नेपाललाई सबैभन्दा बढी सहयोग गर्ने मुलुकसँग सम्बन्ध बिगार्ने काम बिल्कुलै गर्नु हुँदैन’, नेता महतले भने, ‘एमसीसी यही बैठकबाट पारित हुनुपर्छ। फागुन १६ गतेभित्र पारित भएन भने सहयोग नहुन पनि सक्छ। अरु मुलुकमा जानसक्छ भनेर उनीहरुले भनिरहेको छ। एमसीसी कुनै पनि हालतमा पारित गर्न जरुरी छ।’
एमसिसी पारित गर्दा राष्ट्रको हित, राष्ट्रको आर्थिक वृद्धि हुनेगरी निवारण गर्ने, रोजगारीका अवसर बढ्ने, लगानी बढ्ने, पूर्वाधारको विकास भएपछि आगामी वर्षमा विद्युत् उत्पादन बढ्दै जान्छ, त्यसले नेपालको आवश्यकता पूरा हुने उनले बताए।
एमसिसी परियोजना सम्झौतापछि अमेरिकी सेना आउँछ भन्ने भ्रम गलत रहेको नेता महतले दाबी गरे।
‘यो इण्डो-प्यासिफिक रणनीतिअन्तर्गत पनि होइन। नेपालको कानुनविपरीत पनि छैन। दुई देशको बिचमा सहमतिअनुसार भएको सम्झौता कानुनअनुसार नै हो। एमसिए अफिस नेपालको कानुन बमोजिम नेपालका सरकारी कर्मचारीहरू भएको एमसिएले कार्यान्वयन गर्छ’, उनले भने, ‘आलोचना एमसिसीले हस्तक्षेप गर्छ यता उति भन्ने छ‚ त्यो सम्भावना छैन। यसमा बौद्धिक सम्पत्तिको अधिकार पनि नेपालको नै छ। आरोपहरू भ्रमपूर्ण छन्। यो अमेरिकासँग सम्बन्ध बिगार्न भएको प्रयास हो।’

