राधा क्यान्सर सचेतना तथा हिंसाविरूद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार चितवनकी पत्रकार ज्योति अधिकारीलाई प्रदान गरिएको छ ।
राधा क्यान्सर सचेतना फाउन्डेसनद्वारा स्थापित अक्षयकोषबाट प्रदान गरिने २० हजार राशिको राधा क्यान्सर सचेतना तथा हिंसाविरूद्धको राष्ट्रिय पत्रकारिता पुरस्कारका लागि यसवर्ष परेका आवेदनमध्येबाट ‘नेपाल समय डटकम’मा कार्यरत चितवनकी अधिकारी छनोट भएकी हुन् ।
फाउन्डेसनले स्व. राधा बस्यालको जन्मजयन्तीमा हरेक वर्ष हिंसाविरूद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार उत्कृष्टमध्ये एक जना पत्रकारलाई प्रदान गर्दै आइरहेको छ ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेश विधायन समितिका सभापति विष्णुप्रसाद लामिछानेले राधाले मृत्यु वरण हुने समयसम्म पनि गरेको साहसबाट सबैले सिक्नुपर्ने बताए । आफू रोगसँग लडिरहेको अवस्थामा पनि समाजप्रति गरेको उनको योगदानलाई भुल्न नहुने भन्दै उनले क्यान्सर तथा हिंसामा परेका व्यतिmको पत्रकारिताबाट नै न्यूनीकरण गर्न सकिने बताए । उनले क्यान्सर रोगका बिरामीले निःशुल्क उपचार पाउने भन्दै गण्डकी प्रदेशले क्यान्सरबाट अकालमा ज्यान गुमाएका व्यतिmको सहजताका लागि निःशुल्क उपचार गर्न लागिएको बताए ।
त्यस्तै, कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले हिंसामा परेका महिला तथा पुरूषका लागि सहयोग गर्न रकम विनियोजन गरेको बताए । जिल्लामा रहेर जुनसुकै हिंसालाई निरूत्साहित गर्न आफू सदैव तयार हुने उनको भनाइ थियो ।
कांग्रेस नेता गोपाल बस्ताकोटी, नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष वीरेन्द्र पराजुली, वडा अध्यक्ष लक्ष्मी पौडेलले निडर र साहसी राधाले समाज परिवर्तनमा पु¥याएको योगदानका बारेमा चर्चा गर्दै आउने दिनमा उनले सुरू गरेको क्यान्सर सचेतनाका कार्यक्रमलाई निरन्तरता दिनुपर्नैमा जोड दिए ।
विसं २०४८ सालमा जन्मिएकी पत्रकार राधा बस्यालको २०७७ कार्तिक १४ गतेका दिन स्तन क्यान्सरको कारणले निधन भएको थियो । एक दशकभन्दा लामो समयदेखि नवलपुरमा रहेर पत्रकारिता गर्दै आएकी उनी वैवाहिक जीवनपछि व्यक्तिगतरुपमा घरेलु हिंसा र क्यान्सरसँग लड्दै आएकी थिइन् ।
समाजमा महिला हिंसा र स्तन क्यान्सरको विषयमा सचेतना अभियान सञ्चालन गर्न राधा क्यान्सर फाउन्डेसनको स्थापना गरेर गाउँगाउँमा सचेतना अभियानसमेत राधाले चलाएकी थिइन् । उनको निधनपश्चात् फाउन्डेसनलाई उनका भाइ पत्रकार प्रकाश बस्यालले निरन्तरता दिइरहेका छन् ।
गत वर्षको राधा क्यान्सर सचेतना तथा हिंसाविरूद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार महिला स्वास्थ्य डटकममा कार्यरत बर्दियाकी समृद्धा केसीलाई प्रदान गरिएको थियो ।