नेपाली कांग्रेस चितवनको पदाधिकारीमा पुरानै अनुहार दोहोरिएका छन् । पदाधिकारीमा संस्थापन इतर समूहको वर्चस्व देखिएको छ । सोमबार बेलुका सकिएको पदाधिकारीको मतगणना अनुसार उपसभापतिमा शालिग्राम शर्मा र राजीव न्यौपाने निर्वाचित हुनुभएको छ । शर्माले ८ सय ६१, न्यौपानेले ८ सय २८ मत ल्याउनुभएको छ । शर्मा प्रशिक्षण विभागमा रहेर कांग्रेसको सिद्धान्त र इतिहासबारे सिकाउने कांग्रेस चितवनका पुराना नेता हुनुहुन्छ । न्यौपाने निर्वतमान सचिव हुनुहुन्छ । उहाँ नेविसंघ चितवनको पूर्वउपाध्यक्ष समेत हुनुहुन्छ ।
सचिवमा सूर्य अर्याल र धुर्वराज पोखरेल निर्वाचित हुनुभएको छ । अर्यालले १ हजार १ सय ७२, पोखरेलले ८ सय १७ मत ल्याउनुभएको छ । अर्याल निर्वतमान सचिव हुनुहुन्छ । पोखरेल प्रशिक्षण विभागका सचिव उहाँ नेपाल शिक्षक महासंघ चितवनका अध्यक्ष हुनुहुन्थ्यो ।
सहसचिवमा गोपाल दराई र दिनेश अधिकारी निर्वाचित हुनुभएको छ । दराईले ९ सय ४८, अधिकारीले ७ सय ३४ मत ल्याउनुभएको छ । दराई पार्टीको क्षेत्रीय सभापति हुनुहुन्थ्यो । अधिकारी जिल्ला कार्यसमिति सदस्य हुनुहुन्थ्यो । दराई जिल्ला नेतृत्वमा नयाँ अनुहार हुनुहुन्छ । पदाधिकारीमा अधिकाँस संस्थापन इतर समूहका हुनुहुन्छ । सहसचिव दिनेश अधिकारी बाहेक सबै पदाधिकारी शेखर–रामचन्द्र समूहका हुनुहुन्छ ।
निर्वतमान पार्टी सभापति जीतनारायण श्रेष्ठसँग निकट रहेर काम गरेका व्यक्तिहरुनै जिल्लाको पदाधिकारीमा निर्वाचित हुनुभएको छ । पदाधिकारी पदमा २ हजार ८ सय १४ मत खसेको थियो । जिल्ला सभापतिमा राजेश्वर खनाल निर्विरोध चयन भैसक्नुभएको छ ।
जिल्ला निर्वाचन समितिका संयोजक ज्ञानेन्द्रप्रसाद अधिकारीले सदस्यतर्फ पहिलो चरणमा समानुपातिक तर्फको मतपत्रहरु गणना हुने बताउनुभयो । उहाँका अनुसार समानुपातिक तर्फको अन्तिम मतपरिणाम मंगलबार बेलुकासम्म सार्वजनि हुनेछ । त्यसलगत्तै प्रत्यक्षतर्फका सदस्यहरुको मतगणना हुनेछ । ४२ जना सदस्यका लागि १ सय १४ जनाको उम्मेद्वारी परेको छ । जसमध्ये प्रत्यक्षतर्फ २४ जनाका लागि ७० जना र समानुपातिक तर्फ १७ जनाका लागि ४४ जनाको उम्मेद्वारी परेको छ ।