आफू पढेको विद्यालयमा पुस्तकालय स्थापनाका लागि म पुस्तक सङ्कलन अभियानमा थिएँ । एकै अनुरोधमा विभिन्न जिल्लाका साथीहरूले कार्टुन–कार्टुनमा पुस्तक पठाइदिए । आएका पुस्तक छान्दै जाँदा एउटा कार्टुनमा पातलो डायरी फेला पारेँ । रातो नाइलनको मसिनो डोरीले बाँधिएको त्यो डायरी एक नेताको थियो । डायरीको अन्तिमतिर लेखिएको विषय निकै रहस्यपूर्ण थियो । प्रस्तुत छ, त्यही डायरीको एक अंश :
कारागारमा छु । थाहै हुँदैन, मान्छे कसरी फस्दै जान्छ । धेरै मानिस नियतिलाई दोष दिन्छन् । तर, यो नियतसँग सम्बन्धित छ, न कि नियति । नियतभित्र राजनीति छिर्यो भने एक सामान्य मानिस मन्त्री बन्छ । स्वयम् मन्त्री हुनेले पनि यो नियत हो भन्ने चाल पाउँदैन । जब मन्त्री आफ्नै तरिकाले सोच्न थाल्छ, ऊ यसरी चार भित्तामा थुनिन पुग्छ ।
म यति सजिलै मन्त्री हुन सक्ने मान्छे होइन, न भ्रष्टाचारै गर्न सक्ने मान्छे ! तर, पत्याउँछ कसले ? मेराबारे आएका खबर पढेर मै छक्क पर्छु । मैले कहाँ–कहाँ के–के फट्याइँ गरेँ ? मेरो कोटरीमा को–को थिए ? म क–कसको एजेन्ट भएर काम गरेँ ? ती सबै म आफैंलाई पहिलो पटक थाहा हुँदै छ । सत्य भन्छु– पहिलो पटक संसदीय निर्वाचन जितेर मोटरसाइकल चढी सिंहदरबार छिर्दै गर्दा पार्टी अध्यक्ष बाहिर निस्कँदै हुनुहुन्थ्यो । म भाइको सीडी १०० ब्रान्डको मोटरसाइकलमा थिएँ । मलाई देखी अध्यक्षले गाडी रोक्न लगाउनुभयो । अध्यक्षले मुस्कुराउँदै भन्नुभयो, ‘झा बाबु, भन यीमध्ये कुन घर मन पर्यो ?’
म अक्मकिएको थिएँ । चारैतिर तीन/चारतले आकर्षक सेता भवन थिए । मैले एउटा भवन देखाएँ । अध्यक्षले भन्नुभयो– ‘लाटा, यो विज्ञान तथा प्रविधि मन्त्रालय हो । यसमा कुनै चार्म छैन । तिमीलाई त्यो बिल्डिङ कस्तो लाग्यो ?’
अध्यक्षले अर्को आकर्षक घरतिर इसारा गर्नुभयो । मलाई केही थाहा थिएन । मैले अध्यक्षज्यूलाई भनेँ, ‘मलाई के थाहा हुन्छ ? हजुरले जे दिनुभयो, लिँदै आएँ । आज पनि जे दिनुहुन्छु, लिन्छु ।’
यी सबै प्रक्रियामा नानाको नाम जोडिनँ भने अन्याय हुन्छ । मेरा नाना राम्रा ज्योतिष थिए । उनी भन्थे, ‘जन्मकुण्डली हेरेर म भन्न सक्छु, मेरो नातिको भाग्यमा राजासँग भेट्ने जोग छ । मेरो नातिलाई पहाडियाको सङ्गतमा पठाउँछु र गाउँको प्रधानपञ्च बनाउँछु । के थाहा, राजाको दर्शनभेट पाइहाल्छ कि ?’
केही दिनमै मलाई ती सबैथोक प्राप्त भयो, जुन मैले सपनामा पनि सोचेको थिइनँ । त्यसपछि मैले जे चाहेँ, त्यही प्राप्त गर्दै गएँ । प्राप्तिको खुड्किलो उक्लिँदै गएँ । म तराईको ब्राह्मण, नानाको सङ्गतले थोरबहुत पढेको थिएँ । थोरबहुत अङ्ग्रेजी र पार्टीसँगको उठबसले खस नेपाली जान्न थालेँ । तर, सिंहदरबार पस्ने हैसियत कहाँ ? आज पनि गाउँले छिमेकीहरू ‘काठमाडौं’ सुनेर डराउँछन् । बस्, थोरबहुत जे–जति राजनीति जानेँ, अध्यक्षकै निगाहले । आज घरबार बसाएँ, अध्यक्षकै निगाहले । सिंहदरबार पुगेँ, अध्यक्षकै निगाहले । यस्तो माइबापसँग मैले कुन दिनमा पङ्गा लिएँ यार ? म मूर्खले थाहा पाउनुपर्थ्यो– एउटा आँखा झिम्क्याउँदा एउटा मान्छे अख्तियार प्रमुख हुन्छ भने अर्को आँखा झिम्क्याउँदा त्यही अख्तियारले मलाई पक्रिन्छ !
‘हजुर त मेरो नेता, मेरा अभिभावक,’ त्यो दिन मैले पहिलो पटक मेरो नेतासँग केही माग्ने प्रयास गरेको थिएँ ।
‘भन के कुरा हो ?’
‘मलाई घरमा विवाहको प्रेसर आएको छ ।’
‘गर न, पार्टीले रोक्दैन ।’
‘हजुर, मलाई पहाडिया केटी बिहे गर्न मन छ ।’
‘अहो ! कुरा त्यसो पो । भन कुनै केटी हेरेका छौ ?’
‘हजुर । बुरा त मान्नुहुन्न नि ?’
‘अरे, तिमी पनि बच्चा कुरा गर्छौ यार । बिहे तिमी गर्ने, मैले नराम्रो मान्ने कहीँ हुन्छ र ?’
‘हाम्रो जिल्लाको कोषाध्यक्ष, मीना प्रसाईं ।’
नेताजी, हटका लगाएर हाँसेका थिए । यो ३० वर्षअघिको कुरा हो । मेरो इच्छा थियो, एक जना पहाडिया केटी विवाह गरौँ । मीना ‘राम्री’ होइन, तर एउटै कमिटीमा बसेर काम गरेकाले मेरा आँखामा परेकी थिइन् । राजनीतिका विषयमा जति काम गरे पनि व्यक्तिगत कुरा गर्ने हिम्मत जुटेको थिएन । आफूले नसकेपछि नेताको सहारा लिएको थिएँ । उनको अट्टहासपछि वरपरका मानिसले हामी दुईतिर अचानक फर्केर चासोका साथ हेरेका थिए । केही दिनपछि मीनाको हेर्ने शैली परिवर्तन भएको पाएँ । म उनको नेता थिएँ । मेराअघि उभिँदा उनी अदबका साथ प्रस्तुत हुन्थिन् । तर, केही दिनमै उनको अदब हरायो र जिस्क्याएजस्तो, नजिक हुन खोजेजस्तो व्यवहार गर्न थालिन् ।
यसैबीच नेताको जीवनमा ठूलो दुर्घटना हुन पुग्यो । यो हाम्रो जीवनकै ठूलो पीडामध्ये एक हुन पुग्यो । मेरा यिनै आदरणीय नेताकी श्रीमती, जसलाई म नन्दा–भाउजू भन्थेँ, दुर्घटनामा पर्नुभयो । भन्नलाई उहाँ पटनाको रेल्वे स्टेसनमा रेल कुरिरहेको अवस्थामा सारी अल्झिएर लिकमा पछारिनुभयो भन्ने समाचार थियो । तर, हामीलाई आशङ्का छ, रेल आउने बेला उहाँलाई कसैले पछाडिबाट धकेलिदियो । नेपालको प्रशासन मात्रै होइन, विदेशी जासुसहरू पनि उहाँको व्यवहारबाट त्रसित थिए । उहाँको कामलाई ब्रेक लगाउन उनीहरू कुनै न कुनै चाल चल्छन् भन्ने थाहा थियो, तर राजनीति यति घटिया होला भन्ने कल्पना थिएन । हामी रातारात पटना पुग्यौँ । उतै दाहसंस्कार गर्यौँ । सुधारिएको पञ्चायत भने पनि यसले हामीलाई खतराको सङ्केत गरेको थियो ।
यो हत्या केही वर्षको खुला राजनीतिको परिणाम थियो भन्ने बुझ्न हामीलाई समय लागेन । लागिहाल्यो, अब काम गर्ने तरिका परिवर्तन गर्नुपर्छ । हामीले पटनाबाट फर्कंदाफर्कंदै नयाँ योजना बनायौँ, जस अनुसार पहाडबाट सरस्वतीलाई बोलाइयो । उनी सानैदेखि नेताज्यूको घर बसेर पढ्थिन् । उनका आमा–बुबा दुवै नेताज्यूका विश्वासिला घरेलु कामदार । सङ्गतले उनी पनि राजनीतिक संस्कारयुक्त थिइन् । यही कारण सरस्वती विश्वासपात्र थिइन् । वीरगन्ज नजिकैको एउटा गाउँमा घर किनेर राखियो । त्यसपछि हाम्रो राजनीतिको शैली फेरियो । हामी आक्कलझुक्कल रातविरात पाहुनाझैँ उहाँको घर पुग्थ्यौँ । उहाँ पनि महिनामा एक दिन गाईबस्तु किन्ने बहानामा जिल्ला–जिल्ला पुग्नुहुन्थ्यो र हामीसँग भेट गर्नुहुन्थ्यो । यता मीना र मेरो प्रेम झाङ्गिन नपाउँदै हाम्रो कार्यक्षेत्र परिवर्तन हुन पुग्यो । एकपल्ट त विवाहको योजना पनि बनाएका थियौँ, तर मेरो प्रिय नेताको उपस्थितिबिना यो सम्भव थिएन ।
दुई वर्षपछि पूर्वसङ्केतबिनै नेताज्यूले गाउँ आउन मलाई सन्देश पठाउनुभयो । भन्नुभयो, ‘झाजी, अब राजा गल्दै छन् । लुकेर होइन, खुलेर लड्ने बेला भयो । म बाहिर निस्कन्छु । तिमी सरस्वतीसँग विवाह गर । घर पनि तिम्रो, घरवाली पनि तिम्रो ।’
‘अनि मीना नि ?’
‘तिमीले राजनीति गर्नुपर्छ । व्यापारीले पाँच/दस वर्ष पर हेरेर व्यापार गर्छ । नेताले कति दूरको सोच्नुपर्छ, तिमीले बुझ्ने कुरा हो ।’ सरस्वतीले पकाएको खाना मैले धेरै पटक खाएको थिएँ । तर, ध्यान दिएर हेरेकै रहेनछु । ठूलो मानिसको सङ्गतले होला, उनी परिपक्व थिइन् । सुझबुझयुक्त कुरा गर्थिन् । स्याङ्जाली शैलीको उनको बोली मलाई सुनिरहूँजस्तो लाग्थ्यो । जसरी मलाई सरस्वतीको पति हुने आदेश आयो, उनलाई पनि मेरो पत्नी हुने आदेश आयो होला । हाम्रो मिलन यसरी भयो, मानौँ हामी वर्षौंदेखि परिचित छौँ ।
त्यसपछि के भयो, भन्नै परेन । प्रजातन्त्रअघि पटक–पटक जेल गइयो । बहुदलीय व्यवस्था पुनःस्थापनापछिको पहिलो संसदीय निर्वाचनमा भारी बहुमतले जितें । अध्यक्षज्यूले रोजेको मन्त्रालय मेरा लागि हाजिर भयो । देश–विदेश, नीति निर्माण सबै क्षेत्रमा हस्तक्षेप गर्ने अवस्थामा पुगियो । म पात थिएँ, अध्यक्षज्यूले जहाँ–जहाँ फुक्नुहुन्थ्यो, उडेर उहीँ पुग्थेँ । राजनीतिमा केही उतारचढाव आयो । त्रिशङ्कु संसद्ले मलाई झन् शक्तिशाली बन्ने अवसर मिल्यो । अध्यक्षको अझै निकट र प्रिय पात्र बन्दै गएँ । कहिलेकाहीँ सरस्वतीलाई आफ्नो पतिले केही गरेको हेर्ने रहर हुन्थ्यो । उनको एक फोनमै अध्यक्षज्यूले मलाई त्यो ठाउँमा आसीन गराइदिनुहुन्थ्यो । नातागोता, आफन्त र कार्यकर्ताले पनि मेरो शक्तिलाई कुनै न कुनै रूपमा उपयोग गर्न चाहन्थे ! मलाई अप्ठेरो पर्दा सहयोग गरेकै हुन् । त्यसैले इन्कार गर्न सक्दिनथें ।
तर, राजनीतिमा जसले जन्माउँछ, उसैले मार्छ भन्ने भुसुक्कै बिर्सिएँ । समय बित्दै गयो । मेरो पनि कोही माइबाप छ भन्ने बिर्सिदै गएँ । सरस्वती योजना बनाउँथिन्, म कार्यान्वयन गर्थें । मलाई पैसाको लोभ कहिल्यै लागेन, तर शक्तिका लागि केही नीतिगत निर्णय अवश्य गरेँ । मुख्य कुरा, ती मानिस जसले मलाई अध्यक्षको लाठी भन्थे, उनीहरूलाई बताउन चाहन्थेँ, मेरो आफ्नै विवेक छ, इतिहास छ । दूतावासहरू मेरा लागि हाजिर छन् । अब के चाहियो ? बस लगातार ८/१० निर्णय यस्तो गरेँ, जसले अध्यक्षको कुर्सी पल्टियो । मेरै शक्तिले नयाँ अध्यक्ष त्यो कुर्सीमा विराजमान हुनुभयो । यही घटनाले मलाई एकाएक पार्टीको सेन्टरमै पुर्याइदियो ।
अध्यक्ष चयन भएकै दिन नयाँ नेताले भन्नुभयो, ‘अब मन्त्री होइन झाजी, देशको प्रधानमन्त्री बन्ने सपना देख्नुस् । तराई जागिसक्यो, शक्ति तपाईंको हातमा छ ।’
सिंहदरबारको सपना कहिल्यै देखेको थिइनँ । मीनाजस्ती सामान्य कार्यकर्तालाई स्वास्नी बनाउने कल्पना गरेको थिएँ । तर, सरस्वतीजस्तो शक्तिशाली घरवाली पाएँ । देश–विदेश, नीति–निर्णय सबैमा मेरो पहुँच भयो । हुँदा–हुँदा पार्टी अध्यक्ष फेर्ने हैसियत बनाएँ । सपनामा प्रधानमन्त्रीको कुर्सी ताक्दाताक्दै अख्तियारले चार दिवारीमा राख्ने योजना बनाएको थाहै भएन । भुसुक्कै बिर्सिएछु, मेरो माइबाप प्रत्यक्ष रूपमा कुनै शक्तिमा नहुँदा पनि घरभित्र, घरबाहिर, देशभित्र–देशबाहिर सबैतिर पावरमा रहेछन् ।
अहिले नयाँ केटाहरूले राजनीति गर्दै छु भनेर फुर्ती गरेको सुन्छु । उनीहरूलाई भन्न मन छ– भाषण चर्को गर्नुस्, तर, आफ्नो धरातल नभुल्नुस् ।
लेखक : प्रकाश पौडेल ‘माइला’
( भरतपुर-२० भिमनगर स्थायी बसोबास रहेका लेखक हाल जापानमा बस्छन )
साभार – कान्तिपुर कोसेली