कविता–सिहंदरवार जलिरहदा
रामशरण गैरे
देख्दा देशको हालत छाती चिरिएको छ ।
दनदनी बलेका छन सरकारी भवनहरु
अनी भत्किएका छन निजी संरचनाहरु ।
यी सँगै हाम्रो आस्थाको धरोहर
सिंहदरवार पनी दनदनी जलेको छ।
सिहंदरवार केवल
इँटा र ढुंगाले बनेको संरचना होइन ।
यो नेपालको गौरव थियो,
सिंहदरबार इतिहासको साक्षी थियो,
यो हाम्रो राष्ट्रिय पहिचानको
जीवन्त प्रतीक थियो,
.
सिंहदरवार एक्लै जलिरहेको छैन,
यससँगै जलेरहेका छन
पुस्तकका पाना बनेर सुरक्षित रहनुपर्ने इतिहास,
रगत पसिनाले सिँचिएको यो देशको भविष्य,
सबै खरानी भएर उडिरहेका छन् धुलोझैं।
सिंहदरबारको आगो भित्र
कानुनका धाराहरू कराइरहेका छन्,
न्यायका तराजु ढल्किरहेका छन्,
.
यो केवल भवनको आगो होइन,
यो राष्ट्रको धड्कनमा परिरहेको चोट हो,
यो भविष्यतर्फका ढोका बन्द गराउने
अन्धकारको संकेत हो।
.
सिंहदरबार एक्लै जलिरहेको छैन—
हामी सबै भित्रभित्रै जलेर,
दुगति भोगिरहेका प्रमाण बनेका छौं।
यो त हाम्रो देशप्रेमको धड्कन थियो।
त्यो दरवारले देशप्रेमको अनुभूति गराउँथ्यो।
.
अब त यो आगोको मुस्लोमा हरायको छ।
हाम्रो गौरव र हाम्रो इतिहासको खिल्लीउडाउदै,
हाम्रो प्राचिन इतिहाँस र पहिचान
सबै खरानीमा मिसियको छ।
तर मन यो सत्य स्वीकार गर्न तत्पर छैन।
यो केवल भवनहरू जलीरहेको थिएन,
यो त हाम्रा सपनाहरू,
हाम्रा सम्झनाहरू
हाम्रो देशको आत्मा जलीरहेको थियो।
.
देख्दा मन भक्कानिन्छ
आँखाहरू आँसुले भरिन्छ
यो पीडा हरेक नेपालीको साझा थियो,
जसले सिंहदरबारलाई
आफ्नो हृदयको हिस्सा ठान्छ।
.
यो आगलागी कुनै प्राकृतिक विपत्ति थिएन।
यो त मानव निर्मित विनाश थियो।
जसको पछाडि स्वार्थको कालो छाया लुकेको थियो।
गलामा देशको झन्डा भिरेर
राष्ट्रिय सम्पत्तिमा आगजनी गर्नेहरुलाइ
सधै धिक्कार्नेछ इतिहाँसले
.
हामीले हाम्रो देशको गौरवलाई
कसरी यति सजिलै स्वार्थको भेटी चढाउन सक्यौं ?
किन हामी सबै निरिह भयौ ?
सुरक्षा निकाय किन टुलुटुलु हेरिरह्यो ?
किन आन्दोलनकारीहरू विचारशून्य भए ?
हाम्रो इतिहास, हाम्रा दस्तावेजहरू,
हाम्रो पहिचान
कसैको व्यक्तिगत स्वार्थका लागि खरानी भए।
हामीले हाम्रो देशको मुटुलाई जोगाउन सकेनौं।
यो पीडा सबै नेपालीलाई भएको हुनुपर्छ।
.
यो भत्केको छ,जलेको छ
अव यो केवल भवनहरू बनाउने कुरा होइन,
यो त हाम्रो मनको आस्थालाई
पुनर्जन्म दिने कुरा हो।
हामीले हाम्रा पुस्ताहरूलाई
एउटा यस्तो नेपाल दिनुपर्छ,
जहाँ उनीहरूले गर्वका साथ
आफ्नो इतिहास पढ्न सकून्,
जहाँ उनीहरूले हाम्रो
पहिचानलाई जीवित देख्न सकून्।
भरतपुर १९ चितवन

