नेपालको पहिलो क्यान्सर रोगको औषधि उत्पादक टिजिग फार्माको चितवनका लागि आधिकारीक विक्रेतामा रिलिभ फर्मास्युटिकल्स नियुक्त गरेको छ। चितवनमा लामो समय देखि औषधीको थोक तथा खुद्रा व्यापार गर्दै आइरहेको रिलिभ फर्मास्युटिकल्सले उक्त कम्पनीबाट उत्पादित औषधीको बजार प्रबर्धन गर्ने कम्पनीका कार्यकारी निर्देशक सुदिप राज सुवेदीले बताए। चितवनको विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा दैनिक हजारौंको संख्यामा क्यान्सर रोगको उपचारका लागि बिरामीहरु आउने गर्छन्। अब बिरामीहरुले पनि भारतीय औषधिहरुको मात्र भर पर्नुपर्ने बाध्यता नहुने सुवेदी बताउँछन्। कोरोनाको समयमा भारतबाट औषधिको आयातमा समस्या हुँदा थुप्रै बिरामीहरुले समस्या भोग्नुपरेको पनि सुवेदी सम्झन्छन्। उक्त कम्पनीबाट उत्पादित ५ फरक प्रकारका ओरल ट्याब्लेट फर्ममा रहेका केमो (क्यान्सर बिरामीहरुका लागि अत्यावश्यक औषधि) हरु चितवन र बाँकेका लागि आधिकारिक विक्रेता बनेको उनि बताउँछन्। पश्चिमको बाँकेमा पनि सुशील कोइराला प्रखर मेमोरियल क्यान्सर अस्पतालमा बिरामीहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको अवस्थामा भरपर्दो र कम मुल्यमा औषधि उपलब्ध गराउँदा बिरामीहरु पनि लाभान्वित हुने उनको ठहर छ।
नेपालमा पहिलो पटक क्यान्सर रोगको औषधि नेपाली फार्मा कम्पनीले टिजिग फर्मा प्राइभेट लिमिटेडले यो औषधि उत्पादन सुरु गरेको हो ।
टिजिग क्यान्सर रोग विरुद्धको औषधि उत्पादन गर्ने टिजिग नेपालकै पहिलो कम्पनी हो । औषधि व्यवस्था विभागसंग स्वीकृति लिएर औषधि उत्पादन अनुमति लिएर व्यवसायिक रुपमा बजारमा पुगिसकेको छ ।
टिजिग फर्मामा अहिलेसम्म ३२ करोड रुपैयाँ लगानी भईसकेको छ भने काभ्रेको बनेपा १ नालामा १६ रोपनी क्षेत्रफल जग्गामा उद्योग रहेको छ ।
कम्पनिका अनुसार अत्याधुनिक प्रविधिमा बनाइएको टिजिग फर्माको उद्योग डव्लुएचओको जीएमपी स्टान्र्डड र औषधि उत्पादन संहिता २०७३ अनुरुप बनाइएको र नेपालकै नमूना उद्योग हो । ‘क्यान्सर रोगको औषधिले गर्दा हुने टक्सीसिटीका कारण यो औषधि उत्पादन गर्ने ठाँउमा अन्य औषधि उत्पादन गर्न मिल्दैन । अर्को कुरा हाम्रो फेक्ट्रीमा नविनतम र अत्याधुनिक प्रविधि जडान भएका छन्,’ कम्पनीले बताएको छ।
टिजिगले केहि महिना पहिला दिएको जानकारी अनुसार औषधि व्यवस्था विभागबाट १५ वटा मोलिक्युलका लागि स्वीकृति पाइसकेको छ । त्यसमध्ये पाँचवटा फर्माकोपेल, अरु नन् फर्माकोपेल छन् । यी मध्ये केही औषधि उत्पादन अनुज्ञापत्र औषधि निर्यातका लागि भएको कम्पनीले बताएको छ ।
तत्कालका लागि पाँचवटा औषधि मात्रै उत्पादन गरिरहेको टिजिगले अरु औषधि पनि ल्याउने योजनामा रहेको पाइएको छ । एन्टीक्यान्सर औषधिको मूल्यको सन्दर्भमा टिजिगले उत्पादन गर्ने औषधिको मूल्य विदेशबाट आउने औषधिको तुलनामा सस्तो हुने पनि कम्पनीले बताएको छ ।
‘हामीकहाँ भारत र तेस्रो मुलुकबाट क्यान्सर रोगका औषधि आउने गर्दछन् । जसमा औषधिको गुणस्तरीयता, प्रभावकारिता र सुरक्षालाई कायम गर्न उच्चतम प्राथमिकतामा राख्दै नेपाली जनमानसलाई सुलभ मूल्यमा उत्पादन गराउने छौं,´कम्पनीको श्रोत बताउँछ।