नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बजेटमा खाद्यान्न, तरकारी र फलफूलको आयातमा ३० प्रतिशतभन्दा कमि गर्ने कुरा सुन्दा कर्णप्रिय भए पनि सजिलो नभएको बताएका छन्।
सोमबार राजश्व परामर्श समितिले आयोजना गरेको कर सुधारसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले यस्तो बताएका हुन्। उनले भने, ‘बजेटमा आकर्षक पक्ष गहुँ, मकै, धान, तरकारी र फलफूलको आयातमा ३० प्रतिशत कमि गर्ने, यो सुन्दा कर्ण प्रिय छ। तर, त्यति सजिलो पक्कै छैन। सजिलो भएको भए पहिला नै गरिसक्ने थियौँ।’
अध्यक्ष गोल्छाले सरकारले विकास पूर्वाधार र उत्पादनमूलक क्षेत्रमा लगानी नगर्ने हो भनेर बजेटले लिएका लक्ष्य हासिल गर्न नसकिने बताए। उनले बजेटमार्फत व्यवसायीहरुलाई निर्यातमा सहुलियत दिने कार्याविधि समयमै बन्छ भन्ने विश्वास कसैलाई नभएको बताए।
उनले सरकारले दिएको सहुलियत कार्यान्वयनको लागि कार्यविधि समयमै बने मात्रै उद्योगीहरुले सहुलियत पाउन सक्ने बताए। सरकारले कच्चा पदार्थमा कर बढाउँदा घ्यू तेल उद्योग समस्यामा परेको उनको भनाइ छ।
गोल्छाले सेनिटरी प्याड उद्योग बन्द हुने अवस्थामा पुगेको दाबी गरे। सरकारले अब कच्चा पदार्थमा कर लगाउने नीति परिवर्तन गरे मात्रै उद्योगलाई परेको समस्या समाधान हुनसक्ने अध्यक्ष गोल्छाको भनाइ छ।
उनले पछिल्लो समय मूल्य वृद्धि,अर्थतन्त्रमा समस्या तथा भारतले निर्यात नीति परिर्वतन गरेको कारण १८ प्रतिशत राजश्व वृद्धि गर्न नसकिने दाबी गरे।
त्यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बजेटले औद्योगीकरणका लागि बाटो खोलेको बताए। उनले सरकारले बजेटमार्फत जग्गामा गरेको व्यवस्था उद्योगमैत्री वातावरण निर्माणमा सघाउने बताए।
अध्यक्ष अग्रवालले सरकारले रुग्ण उद्योग चलाउने निर्णय पनि सकारात्मक भएको बताए। सरकारले उद्योग क्षेत्रमा ल्याएको नीति कार्यान्वयमा आए उद्योग क्षेत्रमा गेम चेन्जर हुने अग्रवालको भनाइ छ।

