काठमाडौं, १३ असार । सूर्या लाइफ इन्स्योरेन्स र ज्योति लाइफबीच मर्जरमा जाने सम्झौतामा हस्ताक्षर भएको छ । सूर्या लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवन कुमार खड्काले मर्जरमा जाने सम्झौतापत्रमा आइतबार हस्ताक्षर भएको बताए ।
होटल याक एण्ड यतीमा भएकाे कार्यक्रममा दुबैतर्फबाट सम्झौतापत्रमा हस्ताक्षर भएको हो । स्वाप रेसियो कम्पनीको डिडिए पछि तय हुने उनले बताए । ‘मर्जरमा जाने सम्झौतापत्रमा मात्रै हस्ताक्षर भएको हो,’ खड्काले भने । उनका अनुसार स्वाप रेसियो कम्पनीको डिडिए पछि तय हुनेछ।
बीमा समितिको निर्देशन अनुसार अब जीवन बीमा कम्पनीहरुले न्युनतम चुक्ता पुँजी ५ अर्ब रूपैयाँ पुर्याउनु पर्नेछ । हाल सूर्या लाइफको चुक्ता पुँजी २ अर्ब ४२ करोड रूपैयाँ र ज्योति लाइफको २ अर्ब २० करोड रूपैयाँ रहेको छ ।
केही दिनअघि मात्रै हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सले मर्जरमा जानका लागि अन्तिम स्वीकृति पाइसकेका छन् । यी दुई कम्पनीले एक महिनाभित्रै अन्य सबै प्रक्रिया पूरा गर्नुपर्ने छ ।
हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स कम्पनीले वैशाख २२ गते मर्जरमा जाने सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स स्वाप रेसियो १०० बराबर ८५ मा गाभिन लागेका हुन् । मर्जर पश्चात बन्ने ‘हिमालयन एभरेष्ट ईन्स्योरेन्स लिमिटेड’ को नामबाट एकीकृत कारोबार हुने छ ।

