श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले अहिलेसम्म आफ्नो पदबाट राजीनामा दिएका छैनन्।
उनले जुलाई १३ सम्म राजीनामा दिने घोषणा गरेका थिए। यद्यपि उनी एक दिन अगाडि नै भागेर माल्दिभ्स पुगेका छन्।
गोटाबाया राजापाक्षेको अनुपस्थितिमा प्रधानमन्त्री रनिल विक्रमासिङ्घे कार्यवाहक राष्ट्रपतिमा नियुक्त भएका छन् ।
कार्यवाहक राष्ट्रपति तथा प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले श्रीलंकाको अवस्थालाई सम्हाल्न सेना र प्रहरीलाई निर्देशन दिएका छन्।
बुधबार राति टेलिभिजन सम्बोधन गर्दै उनले प्रदर्शनकारीलाई प्रधानमन्त्री कार्यालय र राष्ट्रपति भवन छाड्न अपिल गरेका हुन्।
विक्रमासिंघेले भने, ‘हामी संविधानको अवहेलना गर्न सक्दैनौँ। हामी फासीवादीहरूलाई देश दिन सक्दैनौँ। हामीले लोकतन्त्रमाथिको यो फासीवादी खतरालाई अन्त्य गर्नुपर्छ।’
प्रदर्शनकारीले बुधबार प्रधानमन्त्रीको कार्यालय कब्जा गरेका थिए। यसअघि उनले राष्ट्रपति भवन पनि कब्जा गरेका थिए।
गोटाबाया राजापाक्षेले बुधबार देश छोडेको खबर आएपछि कोलम्बोमा प्रदर्शनकारीहरू आक्रोशित बनेका थिए। प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रुग्यास प्रहार गर्नुपरेको थियो।
श्रीलंकामा संकटकाल घाेषणा गरिएकाे थियाे।

