पुर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिको म्याद थप भएको छ । बजेट निर्माण गर्दा तत्कालीन अर्थमन्त्री शर्माले अनधिकृत व्यक्तिलाई प्रवेश गराई करका दर हेरफेर गरेको आरोप लागेपछि संसदीय छानबिन समिति बनेको थियो । गत असार २२ मा बनेको समितिको म्याद १० दिन दिइएको थियो । उक्त समितिको म्याद आज सकिएको थियो ।
सभामुख अग्निप्रसाद सापकोटाले उक्त छानबिन समितिको म्याद सात दिन थपेको संसदमा घोषणा गरेका थिए । उक्त विषयबारे आधार र प्रमाणसहित निष्कर्षमा पुग्न र प्रतिवेदन पेश गर्न आवश्यक समय थप गर्न लेखिआएको भन्दै सभामुख सापकोटाले म्याद थप गर्न प्रतिनिधि सभामा सहमति जनाउन अनुरोध गरेका थिए ।
सांसदहरूले सहमति जनाएपछि उक्त समितिको म्याद सात दिन थप भएको छ । शर्माले भने बजेट बनाउँदा अनधिकृत व्यक्तिले करका दर हेरफेर नगरेको बताइरहेका छन् । शर्माले असार २२ मा अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए । शर्मासँग आजै बिहान छानबिन समितिले तीन घन्टासम्म बयानसमेत लिएको थियो ।