भारतीय अनुसन्धान एजेन्सी प्रवर्तन निर्देशनालय (ईडी) ले शुक्रबार पश्चिम बंगालका उद्योग मन्त्री पार्थ चटर्जीकी निकट सहयोगी अर्पिता मुखर्जीको घरमा छापा मारेको छ ।
छापा मार्ने क्रममा २० करोड भारतीय रुपैयाँ नगद बरामद गरिएको ईडीले बताएको छ । शिक्षक भर्ती गर्ने क्रममा आर्थिक अनियमितताको आरोपमा ईडीले अर्पिता मुखर्जीको घरमा छापा मारेको हो ।
बरामद भएको रकम एसएससी घोटालासँग सम्बन्धित हुन सक्ने ईडीले उल्लेख गरेको छ । त्यस्तै छापा मार्ने क्रममा अर्पिताको घरबाट २० भन्दा बढी मोबाइल बरामद भएको छ । एजेन्सीले यी फोन कुन उद्देश्यका लागि प्रयोग गरिन्थ्यो भन्नेबारे पनि अनुसन्धान गरिरहेको छ ।
ईडीले यसबाहेक शिक्षा राज्यमन्त्री परेश सी अधिकारी र विधायक माणिक भट्टाचार्यलगायतका घरमा पनि ईडीले छापा मारेको छ । उच्च अदालतको निर्देशनपछि भारतीय गुप्तचर संस्था सीबीआईले पश्चिम बंगालका सरकारी र सहायता प्राप्त विद्यालयमा समूह–सी र डी कर्मचारीहरू साथै शिक्षकको भर्तीमा भ्रष्टाचारको मामिलामा अनुसन्धान गरिरहेको छ ।
पार्थ चटर्जी हाल पश्चिम बंगाल सरकारमा उद्योग तथा वाणिज्य मन्त्री छन् । कथित शिक्षा घोटाला सार्वजनिक हुँदा चटर्जी शिक्षामन्त्री थिए। सीबीआईले उनलाई दुईपटक सोधपुछ गरिसकेको छ ।