चितवन १ फागुन । भरतपुर महानगरपालिकाभित्र विकासका क्रियाकलपले गति लिएको छ। जनप्रतिनिधि आएसँगै सानादेखि ठूला परियोजना निर्माण हुन थालेपछि विकासका कामले गति लिएको हो। महानगरपालिका, बागमती प्रदेश सरकार र संघीय सरकारका आयोजना यस महानगरमा सञ्चालनमा आएसँगै विकासका कामले गति लिएको हो। महानगरपालिकको अगुवाइमा प्रदेश र संघीय सरकारको साथकै कारण महानगरमा ठूला आयोजना अघि बढेका हुन्।
भरतपुरभित्र बन्दै गरेका र बन्ने तयारीमा रहेका एक दर्जनभन्दा बढी आयोजनाले पनि विकासको क्रियाकलापले थप गति लिएको प्रस्ट हुन्छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, भरतपुर महानगर सिटी हल, पुल्चोक–गोन्द्राङ छ लेन सडक, नारायणी नदी किनार आयोजना, हुलाकी सडक, उद्योग ग्राम, चौबीसकोठी–मेघौली सडक, रिङरोड र लिङरोडको काम धमाधम भइरहेको छ। यस्तै नारायणगढको लायन्सचोकमा बहुउद्देश्यीय भवन, भरतपुर विमानस्थल विस्तार, स्मार्ट सडक बत्तीजस्ता परियोजना सञ्चालनको तयारीमा रहेका छन्।

महानगर प्रमुख रेनु दाहालका अनुसार क्रिकेट रङ्गशालाका लागि महानगरकै पहलमा जग्गा खोजी गरी काम तीव्र गतिमा अघि बढिरहेको छ। धुर्मुस–सुन्तली फाउण्डेशनले निर्माणको काम अघि बढाएको हो। यस परियोजना सम्पन्न भएसँगै अन्तर्राष्ट्रियस्तरका खेल यहाँ हुनेछन्। जुन नेपालको महत्त्वपूर्ण परियोजना मध्येको एक बन्ने दाहालको भनाइ छ। यो आयोजनाको निर्माणको काम रातदिन भइरहेको छ।
नदी किनारमा ‘सी बीच’
भरतपुर महानगरपालिकाको वडा नं १ र ३ को नारायणी नदी किनारालाई ‘सी बीच मोडेल’ मा विकास गरी स्वदेशी तथा विदेशी पर्यटक आकर्षण गरी आर्थिक क्रियाकलापमा वृद्धि गर्ने गरी काम अगाडि बढाइएको छ। दाहालका अनुसार गत आर्थिक वर्षमा महानगरबाट रु एक करोड रकम खर्च भई फुटपाथ बनेको थियो। यस आर्थिक वर्षमा पर्यटन मन्त्रालयबाट करिब रु सात करोडको बोलपत्र आह्वान भइसकेको छ। यससँगै यस क्षेत्रमा आन्तरिक र बाह्य पर्यटक प्रवर्द्वनमा महत्त्वपूर्ण योगदान पुग्नेछ।
गणेशस्थानलाई गणेशधामको रूपमा विकास
यस्तै वडा नं. ११ को गणेशस्थानलाई गणेशधामका रुपमा विकास गर्ने काम पनि धमाधम भइरहेको छ। उक्त ठाउँमा पानी पोखरी, मन्दिर, पार्कलगायतका संरचना बन्नेछन्। धार्मिक पर्यटकीय क्षेत्रका रुपमा यसलाई विकास गर्न लागिएको प्रमुख दाहालले बताइन्। बाइपास सडक किनारमा सिटी हल निर्माणको लागि संघीय सरकारको रु ७७ करोड ७७ लाख बजेटमा सघन शहरी तथा भवन आयोजनाबाट ठेक्का सम्झौता भई काम भइरहेको छ। ‘हाम्रो तेस्रो प्रयासपछि महत्त्वपूर्ण आयोजना अघि बढेको छ। यसले सिङ्गो चितवनको विकासमा टेवा पुग्नेछ,’ उनले भनिन्।

छ लेनको सडक
भरतपुर महानगर क्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्गलाई आकर्षक छ लेन सडक बनाइँदै छ। नारायणगढको पुल्चोकदेखि गोन्द्राङसम्म सडक विस्तार गर्न रु एक अर्ब १२ करोडको ठेक्का सम्झौता भई निर्माण कार्य भइरहेको छ। आधुनिक र व्यवस्थित फुटपाथसहितको सडक निर्माण हुनुका साथै महानगरको सौन्दर्यमा वृद्धि हुने दाहालको भनाइ छ। भरतपुर महानगरपालिका हुँदै जिल्लाको ठोरीसम्म पुग्ने हुलाकी सडकको काम पनि भइरहेको छ। महानगरभित्र पर्ने हाकिमचोक जगतपुर सडकमध्ये हाकिमचोकबाट पकौडीसम्म हालको छ मिटर सडकलाई सात मिटर कालोपत्रे बनाउने र बाँकी नौ किमी सडकखण्डलाई सतह ढल निर्माणसमेत गरी स्तरोन्नति गर्ने कार्य भइरहेको छ।
भरतपुर–रामपुर–चनौली सडक
चौबिसकोठी रामपुर चनौली मेघौली सडकखण्डमध्ये हाल रामपुर चनौलीखण्ड निर्माण सम्पन्न भएको छ भने चनौली–मेघौली सडकखण्डको निर्माण र मर्मत कार्य अगाडि बढिरहेको छ। दाहालका अनुसार ६५ किलोमिटर लिङरोडको काम अघि बढिरहेको छ। यसैगरी भरतपुर महानगरपालिका–२० मा प्रदेशस्तरको उद्योगग्राम र वडा नं २१ पार्वतीपुरमा संघीय उद्योग ग्राम निर्माण अघि बढेको छ। पवित्र तीर्थस्थल देवघाटमा विद्युतीय शवदाहस्थल बन्दै छ।
महानगरभित्र खानेपानी
महानगरपालिकाभित्र नै नगरवासीलाई शुद्ध र गुणस्तरीय पिउने पानी प्रवाह गर्न व्यवस्थित खानेपानी सञ्जाल निर्माणको काम धमाधम भइरहेको दाहालले बताइन्। महानगरभित्र विभिन्न आयोजना गरी खानेपानीतर्फ मात्रै रु दुई अर्ब ४१ करोडभन्दा बढीका आयोजना सञ्चालनमा रहेको उहाँको भनाइ छ। महानगर पूरै क्षेत्रलाई शुद्ध खानेपानी वितरण गर्ने लक्ष्यका साथ काम भइरहेको उनले बताइन्। महानगरभित्र रहेको भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालजस्ता स्वास्थ्य संस्थाको केन्द्रीयस्तरमै स्तरोन्नतिका लागि महानगरले काम गरिरहेको उनले बताइन्।

लायन्सचोकमा बहुउद्देश्यीय भवन
महानगरभित्र नारायणगढको लायन्सचोकमा बहुउद्देश्यीय भवन निजी क्षेत्रमार्फत् सम्पन्न गर्न बोलपत्र आह्वान भई प्राविधिक प्रस्तावसमेत पारित भइसकेको छ। २०५२ सालदेखि तरकारी बजारको रुपमा विकास भएको उक्त स्थानमा भवन निर्माणको लागि निजी क्षेत्रलाई भवन निर्माण तथा सञ्चालनको लागि दिइएको छ। उक्त स्थानमा तीस वर्षका लागि निजी क्षेत्रले भवन निर्माण गरेर व्यवसाय सञ्चालन गर्नेछ। दाहालका अनुसार सो परियोजनाका लागि निजी क्षेत्रले रु एक अर्ब ७५ करोड हाराहारी खर्च गर्नेछन्, जहाँ पाँच तारे होटलदेखि अन्य महत्त्वपूर्ण व्यवसाय रहने छन्।
विमानस्थल बिस्तार
महानगरको भरतपुरमा हाल रहेको विमानस्थललाई बिस्तार गर्ने काम पनि अगाडि बढाएको छ। तोकिएको मापदण्डभन्दा कम भई जोखिमयुक्त भएपछि विमानस्थलाई बिस्तार गर्न लागिएको महानगर प्रमुख दाहालले बताइन्। ‘हालको मागलाई धान्न ठूला विमान ल्याउन आवश्यक भइसकेकोले विमानस्थलको विस्तार एवं सुधार गर्न लागेका हौँ,’ उनले भनिन्। महानगरपालिकाले विमानस्थल विस्तारका क्रममा स्थानान्तरण गर्नुपर्ने नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्रका लागि वैकल्पिक जग्गासमेत तयार गरिसकेको उनले बताइन्।

सडकमा स्मार्ट बत्ती
महानगरपालिकाको मुख्य शहरी क्षेत्रका सडकमा रु ११ करोड ४९ लाख ८९ हजार लागतमा स्मार्ट बत्ती जडानको काम पनि सुरु हुन थालेको छ। उक्त योजनाको बोलपत्र आह्वान भई काम अघि बढिरहेको छ। महानगरका उप–प्रमुख पार्वती शाहले जनप्रतिनिधि आएसँगै महानगरको योजनाबद्ध विकास अघि बढेको बताइन्। आवश्यकता र औचित्यका आधारमा विकासलाई अघि बढाइएको उनले बताइन्। महानगरभित्र अधिकांश सडक कालोपत्र गर्ने काम भइरहेको भन्दै उनले भनिन्, ‘व्यवस्थित विकासमा महानगर जुटिरहेको छ। देशकै नमूना शहरका रुपमा भरतपुरलाई विकास गर्ने गरी योजना अघि बढाइरहेको छ।’ – रासस