आफ्नै सहोदर भाइको रकम पचाउन लुटपाटको नाटक रच्ने महोत्तरीका एक व्यापारी आफैँ फन्दामा परेका छन्।
महोत्तरीको रामगोपालपुर नगरपालिका–७ सहसौलाका बासिन्दा अरुणकुमार चौधरी आफैँले रचेको बनावटी लुटपाट घटनाको फन्दामा परेका हुन्।
ढाँटछल गरेर भाइको रु पाँच लाख लिने चौधरीको सपना प्रहरीको सूक्ष्म अनुसन्धानले अन्त्य गरिदिएको छ। उनी अहिले प्रहरीको हिरासतमा छन्।
गत शुक्रबार साँझपख जिल्लाकै गौशाला बजारबाट घर फर्कँदै गरेका चौधरीले गौशाला–२ को गौशाला–सम्सी सडकखण्डको रेडक्रस भवन नजिकै आफूलाई चक्कु प्रहार गरी लुटेराले रु पाँच लाख नगद लुटेर लगेका प्रहरीलाई बताएका थिए।
सूचना पाएलगत्तै घटनास्थल पुगेर अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय गौशालाले चौधरीले नाटकीय घटना रचेको पत्ता लगाएको हो।