बंगलादेशमा पेट्रोल र डिजेलको मूल्यमा भएको भारी वृद्धिपछि देशभर हिंसात्मक प्रदर्शन भएको छ। सरकारले शुक्रबार पेट्रोलमा ५१ दशमलव ७ प्रतिशत र डिजेलको मूल्य ४२ दशमलव ५ प्रतिशतले बढाएको थियो।
मूल्य बढेसँगै प्रदर्शनकारीहरूले धेरै सहरमा आगजनी र ढुङ्गा हान्ने काम गरेका थिए। प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्नुपरेको थियो।
शनिबार पेट्रोलियम पदार्थको मूल्यवृद्धि लागू हुनुअघि देशभरका पेट्रोल पम्पमा ठूलो संख्यामा मानिस पुगेका थिए। पेट्रोल पम्पमा ठूला-ठूला लाइनहरू थिए र आतंकको वातावरण थियो।
यसैलाई मध्यनजर गर्दै केही पेट्रोल पम्पले पेट्रोल र डिजेल बिक्री बन्द गरेपछि विरोध प्रदर्शन भएको थियो।
Bangladesh… protests and hard clashes have erupted in several cities after the government has decided to increase petrol prices by 51% and diesel by 42% effective midnight….
Huge lines are reported at petrol stations all over Bangladesh…
🔊sound pic.twitter.com/JQmUsLBIAD
— Wall Street Silver (@WallStreetSilv) August 7, 2022
पेट्रोल र डिजेलको मूल्यमा भएको यो भारी वृद्धिले लाखौँ जनताको जनजीवन प्रभावित भएको आन्दोलनकारीले बताएका छन्।
यता, ऊर्जा मन्त्रालयले विश्व बजारको अवस्था हेर्दा तेलको मूल्य वृद्धि रोक्न नसकिने बताएको छ। बंगलादेश पेट्रोलियम कर्पोरेसनले जुलाईसम्मको ६ महिनामा आठ अर्ब रुपैयाँ घाटा बेहोरेको ऊर्जामन्त्री नसरुल हमिदले भने।
‘नयाँ मूल्य सबैले धान्न सक्दैनन्। तर, हामीसँग अर्को उपाय थिएन। जनताले धैर्य गर्नुपर्छ’, उनले भने।
विश्व बजारमा कच्चा तेलको मूल्य घटेमा देशमा तेलको मूल्य परिवर्तन हुने उनकाे भनाइ छ।
यसै क्रममा प्रमुख विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टीका महासचिव मिर्जा फखरुल इस्लाम आलमगीरले यसलाई जनताको घाउमा नुन छर्केको बताएका छन्। उनले मूल्यवृद्धिले बंगलादेशको अर्थतन्त्रमा निकै नराम्रो असर पर्ने बताए।
लगातार नौ महिनामा ६ प्रतिशतमा रहेको बंगलादेशको मुद्रास्फीति जुलाईमा बढेर ७.४८ प्रतिशत पुगेको छ ।

