गत अगस्ट १५ मा तालिबान समूहले सत्ता सम्हालेपछि अफगानिस्तानमा ३९.५९ प्रतिशत सञ्चार माध्यम र करिब ६० प्रतिशत पत्रकार रोजगारी गुमाएको बताइएको छ ।
अफगानिस्तानमा पत्रकारको अवस्थाबारे चिन्ता व्यक्त गर्दै गैर–नाफामुलक अन्तर्राष्ट्रिय गैर–सरकारी संगठन (रिपोर्टर्स विदाउट बोर्डर्स)ले यो तथ्याङ्क सार्वजनिक गरेको हो ।
सूचनाको स्वतन्त्रताको अधिकारको रक्षा गर्नु आफ्नो उद्देश्य रहेको बताउने रिपोर्टर्स विदाउट बोर्डर्सको प्रतिवेदनमा भनिएको छ, ‘रिपोर्टर्स विदाउट बोर्डस’को सर्वेक्षणअनुसार १५ अगस्ट २०२१ मा तालिबानले सत्ता सम्हालेको एक वर्षमा अफगानिस्तानले आफ्ना ३९.५९ प्रतिशत सञ्चारमाध्यम र अधिकांश महिला पत्रकारसहित ५९.८६ प्रतिशत पत्रकार विस्थापित बनेका छन् ।’
प्रतिवेदनमा भनिएको छ, ‘तालिवान समूहले शासन सम्हालेपछि अफगानिस्तानमा आर्थिक सङ्कट र प्रेस स्वतन्त्रतामाथिको दमनका बीच भएको हो। टोलो न्यूजका अनुसार अफगानिस्तानमा पत्रकार र सञ्चार माध्यमको सङ्ख्याको हिसाबले पत्रकारितामा व्यापक अङ्कुश लगाइएको छ र सञ्चारमाध्यमलाई बन्द हुन बाध्य पारिएको छ ।’
महासचिव क्रिस्टोफ डेलोइरेले भने, ‘अफगानिस्तानमा विगत एक वर्षमा पत्रकारिता धराशायी भएको छ । सञ्चारमाध्यम र पत्रकारहरूलाई कानुनहरूको अधीनमा राखिएको छ जसले मिडिया स्वतन्त्रतालाई सीमित गर्दछ र दमन र उत्पीडनको बाटो खोल्दछ ।’

