नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नागरिकले संविधानतः प्राप्त अधिकार निर्धक्क उपभोग गर्न पाउनुपर्ने बताएका छन् । काभ्रेपलाञ्चोकको बनेपाका प्रजातन्त्र सेनानी स्व गोपालदास वादेको १३औँ पुण्य तिथिमा आज आयोजित श्रद्धाञ्जली सभामा उनले संविधानमा उल्लेख भएका अधिकार नेपाली नागरिकले निर्धक्क उपभोग गर्न पाउनु नै महापुरुष तथा शहीदको सच्चा श्रद्धाञ्जली हुने बताउए ।
“संविधानले सङ्घीयतासँगै दिएको अधिकार नेपाली नागरिकले निर्धक्क उपभोग गर्न पाउनुपर्छ, यो नै महापुरुष र सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुन्छ,” नेता सिंहले भने । उनले नागरिकको जीवनमा सहजता आउनु नै परिवर्तनको आभाष हुने बताए ।
नेता सिंहले नेपाली कांग्रेस र समाजमा स्वर्गीय वादेको योगदानको चर्चा गर्दै पुराना नेताको विचारलाई युवापुस्ताले आधुननिकीकरणसँगै अँगाल्नुपर्ने बताए । उनले भने, “स्वर्गीय वादे सादा जीवन र उच्च विचारका धनी हुनुहुन्थ्यो, आजको युवा पुस्ताले सोही विचारलाई अनुसरण गर्नुपर्दछ ।”

