चितवन । आन्तरिक राजश्व कार्यालय, भरतपुरद्धारा एक महिनामा करीब १ अर्ब ११ करोड राजश्व संकलन भएको छ । चालु आर्थिक बर्ष २०७९, ८० को साउन महिनामा १ अर्ब १० करोड ९९ लाख ३१ हजार राजश्व असुली भएको हो । विभागले कार्यालयलाई यो महिनाको लागि १ अर्ब ६४ करोड ८१ लाख ७५ हजार रुपैंया लक्ष्य दिएको थियो । यो लक्ष्य भन्दा ३२ दशमलव ६६ प्रतिशतले कमी हो । कार्यालयले आयकर र स्वास्थ्य सेवा कर शिर्षक बाहेक अन्य शिर्र्षकमा लक्ष्य अनुसार कर असुली गर्न सकेको छैन ।
जसअनुसार आयकर शिर्षकमा साउन महिनामा १५ करोड १० लाख २३ हजार रुपैंया लक्ष्य दिएकोमा १६ करोड ४४ लाख ५३ हजार रुपैंया संकलन गरेको छ भने स्वास्थ्य सेवा करमा ५ लाख ५३ हजार लक्ष्य दिएकोमा २६ लाख २८ हजार रुपैंया असुल भएको छ । कार्यालयका कर अधिकृत शुशील लम्सालले साउन महिनामा आयकर र स्वास्थ्य करको बक्यौता रकम करदाताले बुझाएकाले लक्ष्य भन्दा बढी कर असुली भएको बताउनु भयो ।
‘साउन महिनाबाट आयकर तिर्ने सिजन पनि शुरु हुन्छ, उहांँले भन्नुभयो , हामी अहिले बक्यौता रकम असुलीमा बढी केन्द्रित छौं ।’ कार्यालयमा सबैभन्दा कर असुली हुने अन्तःशुल्क शिर्षकमा १ अर्ब २७ करोड १७ लाख ९ हजार लक्ष्य दिइएकोमा ७४ करोड ४३ लाख ९७ हजार रुपैंया राजश्व असुली भएको छ तर शिक्षा सेवा करमा विभागले कुनैपनि लक्ष्य दिएको छैन भने कर पनि असुली भएको छैन । यस्तै व्याजकर शिर्षकमा २ करोड ३९ लाख १२ हजार लक्ष्य दिईएकोमा १ करोड ९६ लाख ११ हजार रुपैंया राजश्व संकलन भएको छ ।
बहालकर शिर्षकमा ६४ लाख ८१ हजार लक्ष्य दिईएकोमा ११ लाख ५९ हजार रुपैंया र मुल्य अभिवृद्धि कर १९ करोड ४४ लाख ९७ हजार रुपैंया लक्ष्य दिईएकोमा १७ करोड ७७ लाख ३९ हजार रुपैंया संकलन भएको कार्यालयले जानकारी दिएको छ । कर अधिकृत लम्सालले असार मसान्त आर्थिक बर्षको अन्त भएकोले औसतमा असार महिनामा बढी राजश्व संकलन हुने बताउनु भयो ।
‘आर्थिक बर्षको पहिलो महिना साउनमा असारको भन्दा जहिले राजश्व संकलन कम हुने गर्दछ, लम्सालले भन्नुभयो , अहिले र्आिर्थक गतिविधि पनि सुस्त छ ।’ विभागले दिएको हरेक शिर्षकमा र महिना अनुसार कर असुलीको लक्ष्य दिएपनि समग्रमा बार्षिक कुल कर असुली सन्तोषजनक हुने उहांँको भनाई छ । विभागले यो आबको लागि कार्यालयलाई २६ अर्ब २६ करोड ५९ लाख ७४ हजार रुपैंया लक्ष्य दिएको छ ।

