नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक तथा माथिल्लो अरुण हाइड्रो इलेक्ट्रिक कम्पनीका अध्यक्ष कुलमान घिसिङले माथिल्लो अरुण जलविद्युत आयोजनाको ४९ प्रतिशत सर्वसाधारण शेयर (आइपिओ) जारी गर्ने बताएका छन्।
वित्तीय संस्थाको सहवित्तीयकरणमार्फत अगुवा गर्ने हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआइडीसीएल) बीच ऋण लगानी सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै घिसिङले यस्तो बताएका हुन्।
उनले ६४ अर्ब रुपैयाँ इक्विटीमध्ये ५१ प्रतिशत आयोजनाको प्रवर्द्धक अपर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनीका संस्थापक सेयरबाट र ३२ अर्ब सर्वसाधरणको शेयर (आइपिओ) बाट उठाउने बताए।
घिसिङले माथिल्लो अरुणमा जलविद्युत आयोजनामा प्रदेश सरकार, आयोजना रहेको जिल्ला संखुवासभाका स्थानीय तह, नेपाल विद्युत प्राधिकरणलगायतका संस्थापक शेयर रहने बताए । उनले माथिल्लो अरुणमा जलविद्युत आयोजनामा नेपालमा ब्लेन्डेड फाइनान्सिङको पहिलो प्रकारको मोडालिटीमा निर्माण गरिने उल्लेख गरे।
निर्देशक घिसिङले ब्लेन्डेड फाइनान्सिङ मोडेल बन्ने आयोजनाले मुलुकको अर्थतन्त्रमा समेत सकारात्मक हलचल ल्याउने दाबी गरे। उनले चार अंकको जडित क्षमता (१०६१ मेगावाट) भएको माथिल्लो अरुणबाट अहिले देशमा खपत भइरहेको ऊर्जाको झन्डै ५० प्रतिशत ऊर्जा उत्पादन हुने दाबी गरे।
घिसिङले सुख्खा समयमा समेत ३० प्रतिशत विद्युत उत्पादन हुने बताए। उनले आयोजनामा लगानीको लागि एचआइडीसीएलको अगुवाइमा हुने सहवित्तीयकरणमा नेपालका निजी क्षेत्रका बैंक तथा वित्तीय संस्थाले पनि आयोजनामा ऋण प्रवाह गर्ने बताए।
उनले आयोजना तुलनात्मक रुपमा सस्तो भएकाले धेरैलाई सहभागी बनाएर नमूना परियोजनाको रुपमा फाष्ट ट्रयाकमा काम अगाडि बढाउने बताए। उनले माथिल्लो अरुणमा जलविद्युत आयोजना नेपालको गेम चेन्जरको रुपमा राखिएको बताए। घिसिङले आयोजना निर्माण सम्पन्न हुँदा नेपालको जलविद्युतको क्षेत्रमा ठूलो परिवर्तन ल्याउने बताए।

