म्यानमारको याङ्गुनस्थित कुख्यात इन्सेन जेलमा शक्तिशाली विस्फोट भएको छ। विस्फाेटमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ।
बुधबार बिहान कारागारको प्रवेशद्वारमा दुईवटा बम विस्फोट हुँदा तीन जेल कर्मचारी र पाँच भिजिटरकाे मृत्यु भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। भिजिटर सबै महिला थिए।
इन्सेन जेल देशकै सबैभन्दा ठूलो जेल हो, जसमा करिब १० हजार कैदी छन्। कारागारमा धेरै राजनीतिक बन्दी पनि छन्।
अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन। विस्फाेटमा १८ जना घाइते भएको पुष्टि गरेका छन्।
कारागारको पोष्ट रुममा बम विष्फोट भएको अधिकारीहरूले बताएका छन्।
मानवअधिकार समूहहरूले शताब्दीयौं पुरानो इन्सेन्स जेल कैदीहरूमाथि अमानवीय व्यवहारका लागि कुख्यात रहेको बताएका छन्।
अहिले म्यानमारमा सैन्य शासन लागू छ। सेनाले गत वर्ष आङ सान सुकीको निर्वाचित सरकारलाई गिराएको थियो।

