भिमनगर , कार्तिक ४ : मेरा निम्ति धेरै प्रिय मानिस अब यो संसारमा छैनन्, तैपनि उनीलाई मेरो छातीले सम्हालेर राखेको छ ! मेरो मनको भित्री तहमा रहेको एउटा सुन्दर घारमा ‘नरपति पौडेल’ सरको विशिष्ट स्थान छ । जहाँ उहाँका लागि मीठा स्मरणहरू तपतप चुहिरहेका छन् । तर त्यो स्नेह उहाँले अब थाहा पाउन सक्नु हुन्न । प्रत्यक्ष अनुभूति गर्न पनि सक्नु हुन्न । म र मलाई धेरै कुरा दिएर उहाँ बाह्र वर्षअघि २०६६ साल वैशाख २० गते नै हामीबाट बिदा भइसक्नु भएको छ । म मात्र होइन, मजस्तै उहाँलाई आफ्नो छातीमा स्थान दिने धेरै विद्यार्थीहरू नेपालभरि विशिष्ट स्थान ओगटेर बसेका छन् । मजस्ता कतिपय चाहिँ विदेशमा पुगेर पनि उहाँका शिक्षालाई जीवन जिउने माध्यम बनाइरहेका छौँ । पलपलमा उहाँलाई सम्झिइरहेका छौँ ।
मेरो ज्ञानमा नरपति सरका अवशेषहरू छन् । उहाँ सबैका प्रिय सर हुनुहुन्थ्यो, तर मेरा लागि उहाँ विशिष्ट हुनुहुन्थ्यो । उहाँले सिकाएका हरेक कुरा मेरा लागि ढुङ्गामा खोपिएका अक्षर सरह थिए । उहाँमा भएको अथाह ज्ञानबाट म निकै प्रभावित थिएँ । सायद यही कारण उहाँका लागि म सधैँ आज्ञाकारी छात्र भएँ । नम्र भएर बोल्ने, अरूको कुरा ध्यान दिएर सुन्ने र त्यसलाई गहिराइमै गएर समाधान गर्ने उहाँको बानी थियो । हरेक समस्याको समाधानका लागि उहाँ पुराना धार्मिक र नैतिक कथाहरूको सहारा लिनुहुन्थ्यो । त्यति मात्र होइन, उहाँ विकास र समाजको सकारात्मक परिवर्तनका पक्षमा हुनुहुन्थ्यो । उहाँ हरेक कुरालाई उग्रभाषामा होइन, नम्र र तार्किक भाषामा व्यक्त गर्नुहुन्थ्यो । सायद यही कारण कुनै समस्याको समाधान गर्न अभिभावकहरू मात्रै होइन, स्वयम् शिक्षकहरूले पनि उहाँसँग सर–सल्लाह लिनुहुन्थ्यो ।
समस्यामा परेको मानिसको कुरा सुन्ने धैर्यता, समस्या समाधान गर्ने शैली र सकेसम्म नम्र बोलेरै काम चल्छ भने किन रिसाउने ? भन्ने ज्ञान उहाँबाटै पाइन्छ । नरपति सरमा कमभन्दा कम बोलेरै जस्तोसुकै समस्या समाधान गर्न सकिन्छ भन्ने विश्वास थियो । आज जब म त्यस्ता समस्या र अप्ठ्याराहरूका बीचमा फस्छु, मलाई नरपति सरको न्याय दिने शैलीको याद हुन्छ र सकेसम्म पछ्याउने कोसिस गर्दछु ।
उहाँ २०२२ सालमा पर्वत जिल्लाको विकट पहाडी गाउँबाट चितवनकै माडी क्षेत्रअन्तर्गत अयोध्यापुरीमा बसाइँ सरेर आउनुभएको थियो । १२ वर्षको कलिलो उमेरमा मातापिताको औँला समातेर तराई झर्नुभएका नरपति सरमा बाल्यकालदेखि नै बेग्लै ऊर्जाशील स्वाभाव हुनुका साथै युवा अवस्थामा पनि सबैको निम्ति आदर्श युवा हुनुहुन्थ्यो भन्ने कुरा त्यहाँका गन्यमान्य व्यक्तिहरू कुरा गर्छन् । पूर्वीचितवनको खैरहनी मा.वि.मा उहाँसगै एस.एल.सी. दिएका विद्यार्थीहरूले उहाँलाई आज पनि याद गर्छन् । उहाँले वीरेन्द्र बहुमुखी क्याम्पस, भरतपुरबाट प्रमाण–पत्र तह सकेर काठमाडौँको त्रि–चन्द्र क्याम्पसबाट स्नातकसम्मको अध्ययन पूरा गर्नुभएको थियो । त्यसैगरी उपत्यका बाहिरको पहिलो सरकारी क्याम्पस ठाकुरराम बहुमुखी क्याम्पस, वीरगञ्जबाट बि.एड. पूरा गर्नुभएको थियो । २५ वर्षे जल्दोबल्दो उमेर पार गर्दा नगर्दै २०३५ सालमा ठोरी स्कुलबाट शिक्षण पेसा सुरु गरे लगत्तै अयोध्यापुरी मा.वि.मा आउनुभयो । उक्त स्कुलमा करिब ४ वर्ष बिताउनुभयो । उहाँको परिवार २०४० सालमा भीमनगरमा बसाइँ सरेर आउँदा अयोध्यापुरी पूरै गाउँ रोएको कुरा पछिसम्म चर्चाको विषय थियो । काखमा ३ छोरीहरू च्यापेर चारकोसे झाडी अनि रिऊ, राप्ती र केरुङ्गा खोला तर्नु कम्ति हिम्मतिलो काम थिएन । तर पनि सरमा दूरदर्शीपना थियो भन्ने कुरा अहिले आएर छर्लङ्ग हुन्छ । आज सम्झन्छु, मानिसलाई गुणले नै विशिष्ट बनाएको हुनुपर्छ ।
मैले रातापुर प्रा.वि.मा प्राथमिक विद्यालयको अध्ययन सकाएपछि कक्षा ६ मा भर्ना हुन भीमनगर स्कुलमा पुगेँ । उक्त स्कुलमा नै मैले पहिलो पटक उहाँलाई देख्ने, भेट्ने र सङ्गत गर्ने अवसर पाएको हँु । स्कुलमा २०५० सालको श्रीपञ्चमीको दिन सबेरै सरस्वती पूजा लगाउने तयारी थियो । पातलो जिउडालको नरपति सर जग्गेमा बस्ने कर्ताको खोजीमा हुनुहँुदोरहेछ । अचानक उहाँको नजरले मलाई देख्यो र कर्ता बस्न भन्नुभएको पल आजको दिनमा पनि झल्झली सम्झिन्छु । नयाँ स्कुल, नयाँ परिवेश र आकस्मिक माहोलमा मैले आनाकानी गर्नै सकिनँ । जीवनमा पहिलो पटक कछाड बेर्न उहाँले नै सिकाउनुभयो । साथीभाइको अघि लाज मान्दैमान्दै सरको आग्रहलाई मान्न बाध्य भएँ । उक्त दिनदेखि सरको आध्यात्मिक र शैक्षिक ज्ञानले मलाई निरन्तर मार्गदर्शन गरिरहेको छ ।
भीमनगर स्कुलमा मैले पढ्दा तीनजना प्रधानाध्यापक सरहरूको अनुभव गर्ने मौका पाएको थिएँ । वामदेव घिमिरे सर, सोमनाथ अर्याल सर र श्रीलाल अधिकारी सर । सबैको विश्वास नरपति सरले जित्नुभएको थियो । २०४३ देखि २०६४ सालसम्म आउँदा अरू धेरै प्रअ सरहरू र सञ्चालक समितिसँग उहाँ कहिल्यै बिझाउनु भएन । शिक्षक, अभिभावक र सञ्चालक समिति सबैको प्रिय र विश्वासको प्रतीक बनेर स्थिर रहनुभयो । हामी विद्यार्थीहरूका लागि त उहाँ विशिष्ट गुरु हुनु स्वाभाविक नै हो ।
जब उहाँ गाउँमा आउनुभयो, मानौँ, शिक्षाको सुवास बोकेर आउनुभयो । मानिसले के आदर्श बोकेको छ, त्यो ठूलो कुरा होइन, आफूले बोकेको आदर्श कति व्यवहारमा उतारेको छ, त्यो ठूलो कुरा हो । उहाँले मुखले पढ्नुपर्छ भनेर सिकाउनु हुन्न थियो, गाउँका केटाकेटीलाई कसरी आदर्शवान् बनाउनुपर्छ भनेर व्यवहारमा उतार्नु हुन्थ्यो । मैले यस्ता धेरै शिक्षक देखेको थिएँ, जो विद्यार्थीलाई अर्ती–बुद्धि त दिन्थे तर आफू व्यवहारमा उतार्दैनथे । उहाँले एउटा शिक्षकमा हुनुपर्ने गुण के–के हुन्, बाँचेर देखाउनुभयो । विद्यार्थीलाई पनि आफूसरह आचरण गरेर देखाउनुभयो ।
बसाइँ सरेर भीमनगर आएलगत्तै २०४२ सालबाट गुञ्जनगर मा.वि.मा अध्यापन सुरु गर्नुभयो । लगत्तै चौथो सन्तानको रूपमा पुत्रलाभ भयो । उहाँ २०४३ मै गुञ्जनगरबाट सरुवा भई घर नजिक भीमनगरमा आउनुभयो । छरछिमेक सबैले बसाइँसराई फापेको भनेर जिस्काउन थाले । वास्तविकता पनि त्यही थियो ।
समयको गति अगाडि बढ्दै गयो । छोराछोरीहरू ठूला हुँदै गए । टिनको छानो र माटोको भित्तोप्रति उहाँको चित्त बुझेन र २०५१ सालमा पक्की घर उठाउनुभयो । त्यस घरमा नरपति सरको जीवनभरको पसिना र पारिवारिक भावना जोडिएको छ । नरपति सरको हरेक कुरामा सकारात्मक ऊर्जासहित साथ दिनुहुने सीता म्याडमको पनि जति चर्चा गरे पनि कम हुन्छ । सन्ततिको पढाइ र भविष्य सोचेर फुर्सद हुनेबित्तिकै गोठ, करेसा र खेतबारीमा पुग्नुहुन्थ्यो दुवैजना ! कुनै दिन पनि खालि हात बसेको देखिएन । सरका विद्यार्थीहरू घर आउँदा म्याडमले कहिल्यै झर्को मान्नु भएन । यो नै ठूलो सोच र विशाल हृदयको उत्कृष्ट नमुना हो ।
आफ्ना विद्यार्थीको अनुहार हेरेर उसको निर्दोषीपना र पढ्न सक्ने क्षमता छुट्याउन सक्ने अनौठो कला थियो उहाँमा । कुन विद्यार्थीलाई कुन किसिमले गाइड गर्दा सजिलोसँग सिक्न सक्छ भन्ने ठम्याएर सोही किसिमले खुराक दिनुहुन्थ्यो । उहाँको कान्छी छोरी र म एउटै कक्षामा पढ्थ्यौँ । तर उहाँका लागि छोरी र हामीबीच फरक थिएन । बरु कहिलेकाहीँ त उहाँले हामीलाई आफ्नी छोरीभन्दा बढी माया गरेको अनुभव गर्दथेँ । यसले मलाई उहाँप्रति अझ सम्मान बढाउँथ्यो ।
परीक्षामा धेरैका लागि अङ्ग्रेजी र गणित गाह्रो विषय थियो । यो बेला धेरै साथीहरू अङ्ग्रेजी र गणित विषयको ट्युसन पढ्न साइकल पेलेर टाढा–टाढासम्म जान्थे । म भने उहाँसँग नेपाली भाषा ट्युसन पढ्न जान्थेँ । कतिपय साथीहरूले मलाई नेपाली भाषा ट्युसन पढ्न गएको भन्दै जिस्क्याउने गर्दथे । तर आज नेपाली भाषा र साहित्यमा मेरो जे–जस्तो लगाव छ, त्यसमा नरपति सरको महत्त्वपूर्ण योगदान छ भन्नेमा दुईमत छैन । त्यसकै फलस्वरूप मलाई व्याकरण र हिज्जेमा पूर्ण आत्मविश्वास हुन्थ्यो ।
पटिहानी मा.वि.मा परीक्षा केन्द्र परेकाले गर्दा प्रवेशिका परीक्षा सकेर फर्किंदा उहाँकै घर अगाडिको बाटो भएर फर्किनु पर्दथ्यो । म फर्किने समय लगभग उहाँ घरको पिँढीमा बसेर बाटो हेरिरहनु भएको हुन्थ्यो । नेपाली विषय मात्र हैन हरेक विषयको प्रश्नपत्र हेर्दै सोधपुछ गर्नुहुन्थ्यो र भोलिपल्टको परीक्षाको शुभकामना दिनुहुन्थ्यो । एउटा विद्यार्थीको निम्ति यो भन्दा ठूलो ऊर्जा के नै हुन सक्थ्यो र ?! मलाई उहाँका आध्यात्मिक, नैतिक र जीवनोपयोगी ज्ञानमा पनि उत्तिकै रुचि थियो ।
मानिसको जीवन एउटा चक्रजस्तै हो । जो आफ्नो तालिकाअनुसार निरन्तर घुमिरहन्छ । कलेज बिदा हुँदा घर गएको बेला सरसँग विभिन्न ठाउँमा जम्काभेट हुन्थ्यो । पढाइको बारे निकै जिज्ञासा राख्नु हुन्थ्यो । संस्थान, बैङ्क वा लोकसेवा आयोगको परीक्षा दिएर स्थायी सेवामा प्रवेश गर्नुपर्छ भनेर उहाँले निकै जोड गर्नुहुन्थ्यो । विशेषगरी मेरो बुवा पनि निजामति कर्मचारी भएकाले गर्दा स्थायी जागिरको महत्त्व र आकर्षणबारे मलाई राम्रै थाहा थियो । त्यसमाथि सरको हौसलाले झन् केही गर्नै पर्नेछ भन्ने भावना सिर्जित हुन्थ्यो । तयारी पनि आफ्नै किसिमले गर्दै थिएँ । तयारीकै क्रममा लोकसेवा आयोगको परीक्षा उपयोगी केही गाइड किताबहरू पनि प्रकाशित गरेँ । यद्यपि त्यही क्रममा हाइकु साहित्य र जापान आउने लहरले छोयो र आवश्यक प्रक्रिया पूरा गरेर २०६२ सालमा म जापानतर्फ हानिएँ । मेरो बुवाको ईच्छा पनि नरपति सरको शुभेच्छाजस्तै मैले निजामति सेवामा प्रवेश गरिदेओस् भन्ने थियो, त्यो चाहिँ पूरा हुन सकेन । सबै ईच्छा पूरा नहुँदा रहेछन् भनेर अहिले चित्त बुझाउने गर्दछु ।
२०७१ सालको माघ महिनातिर हुनुपर्छ । भरतपुरबाट काठमाडौँ जानका निम्ति बुद्ध एयरको विमान चढ्ने लाइनमा बसेको थिएँ । एकजना तन्नेरी भाइ पनि लाइनमा सँगै भेटिए । उनलाई निकै सानोमा भेटेको थिएँ । अहिले त ठूला भइसकेछन् । बोलीचाली पनि निकै परिपक्व लाग्यो । सामान्य कुराकानीपछि काठमाडौँ जानुको काम सोध्दै थिएँ । जवाफ सुनेर दङ्ग परेँ । जोश र जाँगरले भरिएका तन्नेरी भाइ नरपति सरका छोरा थिए र नेपाल विद्युत प्राधीकरणको सातौँ तहको परीक्षामा पास भएर नियुक्ति–पत्र बुझ्नका लागि काठमाडौँ जाँदै थिए । मनमनै सोचेँ — नरपति सरको सपना मैले त पूरा गर्न सकिनँ तर छोराले पूरा गरेछन् । यद्यपि यो कुराको प्रत्यक्ष अनुभव उहाँले गर्न पाउनुभएको भए कति खुसी हुनुहुन्थ्यो होला ?
घरबाट पाउने शिक्षा–दीक्षाले जीवनमा ठूलो प्रभाव पार्ने रहेछ । २१ औँ शताब्दीमा मानिसको ध्यान देखावटी र बाहिरी आडम्बरमा केन्द्रित भएको धेरै देखिन्छ । तर नरपति सरको तरिका बिल्कुल भिन्न थियो । आफ्ना सन्ततिको क्षमता कत्तिको छ ? कुन हदसम्मको जिम्मेवारी बहन गर्न सक्छन् ? र वर्तमान युगको आवश्यकता के हो ? भन्नेबारे उहाँले विस्तृत बुझेर मात्र कदम चाल्नुहुन्थ्यो । आफ्ना चारैजना सन्ततिलाई यो शैक्षिकस्तरसम्म पु¥याउन कम्ति सजिलो भने थिएन । र अहिले सबैले एउटा सुख र शान्तिको जीवन भोगेका छन् । देश–विदेश घुमेका छन् । नरपति सरको अनुपस्थिति खड्किए पनि सीता म्याडमले पक्कै सन्तोषको सास फेरिरहनु भएको होला । सीता म्याडमलाई मैले भने सुरुदेखि नै अन्टी भनेर सम्बोधन गर्ने गरेको छु ।
शान्ता दिदी मभन्दा केही ब्याच सिनियर भएकाले पहिला त्यति नजिक हुने अवसर मिलेन । अहिले भने सामाजिक सन्जालले नजिक्याएको छ । माइली छोरी पार्वती एउटै स्कुलमा मभन्दा अघिल्लो कक्षामा पढ्थिन् । एलिसा र म त एउटै ब्याच । पढाइमा स्वच्छ प्रतिस्पर्धा नै हुन्थ्यो उनीसँग । साथै सुनिल भाइ हिजोआज नियमित सम्पर्कमै छन् । नरपति सरको उत्तराधिकारी समेत भएकाले गर्दा होला सुनिल भाइसँग गफको केमिस्ट्री पनि मिल्छ मेरो । उनीसँग गफ गर्दा सरको झल्को पनि मेटिएको भान हुन्छ ।
असल चेला त्यही हो, जसले आफ्ना सम्पूर्ण बुद्धि विवेक आफ्नो घरमा छाडेर गुरुको पछि लाग्छ । गुरुले पनि पूर्णरूपमा चेलाको जिम्मा लिन्छ र उसलाई आफ्नो बुताले भ्याएसम्म असल मार्गमा हिँडाउँछ । गुरु चेलामा स्वार्थको सम्बन्ध हुँदैन । आमा–बुवाले आफ्नो सन्तानले केही प्रगति गरे भने केही पाउने आशा राख्छन्, त्यो एक किसिमले स्वाभाविक पनि हो । मानौँ, कुनै सन्तानले निकै प्रगति गरे तर आमा–बुवालाई केही वास्ता गरेनन् भने त्यस्ता सन्तानको सामाजिक तवरमै आलोचना हुन्छ । तर गुरु चेलाको सम्बन्ध अनौठो हुन्छ, आफ्नो चेला जति ठूलो भए पनि उनीहरूबाट केही पनि आशा राख्दैनन् । ठूलो बन्नु नै उनीहरूका लागि पुरस्कार, सम्मान र उपहार हो ।
आजको दिनमा मैले नरपति सरसँग भेट्न सक्दिनँ । तर मसँग नरपति सरले सिकाउनु भएको जीवन चलाउने कला ज्ञानको रूपमा प्राप्त भएको छ । म डेढ दशकदेखि डायस्पोरामा बसेर केही सङ्घ–संस्थामा आबद्ध छु र त्यसको उच्च नेतृत्व तहसम्म पुगेको अनुभव पनि बटुलेको छु । काम गर्दै जाँदा कहिलेकाहीँ ठेस लाग्छ, आलोचना पनि सुन्नुपर्छ । कतिपयले यो नेतृत्व कौशलको खुलेर प्रशंसा गर्छन् । त्यो बेला मलाई लाग्छ, यो गुण मैले चाहेर बनाएको होइन, सानैदेखि मेरा माता–पिता र गुरुहरूबाट स्वतः प्राप्त भएको हो । यस्तोमा म अनजान रूपमै मेरो व्यक्तित्व विकास गरिदिने नरपति सरलाई सम्झन पुग्छु । अहिले पनि चनौली, भीमनगर, फलेनी गाउँ, धरमभकारी, गुन्जनगर सेरोफेरोको माटोमा, अनि सोही आसपासको बाटोमा नरपति सरकै सुगन्ध भेट्ने गर्छु ।
कहिलेकाहीँ लाग्छ, यति असल मानिसले जीवनमा सब कुरा जित्नुभयो । सबैको मन–मस्तिस्कमा बास गर्नुभयो । परिवार, छरछिमेक र समाजलाई आफूले चाहेजस्तै सेवा र मार्गनिर्देश गर्नुभयो । तर २०६६ सालमा मुटु रोगसँग लड्दालड्दै मृत्युलाई जित्न सक्नुभएन । नरपति सर भौतिक रूपमा हुनुहुन्न, तर यो जीवनयात्रामा समाज एक्लो छैन, म एक्लो छैन, नरपति सरको ज्ञान र विवेक पनि साथमा छ ।
-प्रकाश पौडेल ‘माइला’
(विगत १७ वर्षदेखि जापानमा बसोबास गर्दै आइरहेका प्रकाश पौडेल ‘माइला’ भीमनगर मा.वि. का पूर्व विद्यार्थी हुन्)

