आसन्न् निर्वाचन र सामूहिक उन्मादबाट गुज्रिरहेको हाम्रो समाज
रामशरण गैरे 
आवधिक भनिएपनि नेपालमा अपर्झट आमचुनाव आइलागेको छ।निर्वाचन तालिका ले लय समातेसँगै घर घरमा, टोल टोलमा, नेता, दल, उम्मेदवार र सुरक्षा फौजको तयारी शुरु भैसकेको छ, यसलेगर्दा अब चुनाव हुन्छ भन्नेमा दुईमत रहेन । भोट माग्न उम्मेदवारहरू दल विशेषका हुन् कि स्वतन्त्र शहर र गाउँतिर होमिन थालि सकेका छन् ।
मतदानपूर्वको अवस्था शुरु भैसकेको छ । यो लामो र चुनौतीपूर्ण चरण हो । सबै दल तथा उम्मेदवारलाई आचारसंहिता पालना गराउँदै आफ्नो क्षेत्रमा प्रचार प्रसारको कार्यमा कुनै सुरक्षा थ्रेट नहोस्, एक आपसमा झडपहरू नहोउन्, विभिन्न प्रतिस्पर्धी दलहरूको कार्यक्रम एकै समय र स्थानमा नजुधोस्, अवाञ्छित तत्वले निर्वाचन बिथोल्ने मनशायले जनमानसमा भय उत्पन्न नगरुन् र निर्वाध मतदाताले तोकिए को ठाउँमा गएर मतदान कार्यमा भाग लिन पाउन् भन्ने सहजता उत्पन्न गर्न यो चरणमा सबै सक्रिय सहयोगी हुनु जरुरी हुन्छ ।
यसचरणको अन्ततिर, मौन अवधिमा मतदातालाई फकाउने, धम्क्याउने, लोभ्याउने जस्ता कार्य हुने गर्दछ । सम्बद्ध निकाय बिशेष सक्रिय हुनु जरुरी छ । मतदान तथा निर्वाचनको संवेदनशील दिन हो । तीनै घेरामा रहेका सुरक्षाकर्मी र कर्मचारीद्वारा त्रुटिरहित तवरमा निर्वाचन सम्पन्न गर्ने कार्य छोटो तर चुनौतीपूर्ण हो । मुख्य रूपमा धाँधली हुने दिन पनि यही हो ।
आफ्नो बाहुबल पुगेको स्थानमा विभिन्न कारणले अनुपस्थित, विदेश भएका, मरेकाहरूको नाममा मतदान हुन सक्ने भएकाले निर्वाचन अधिकृत तथा भित्री घेरामा रहने प्रहरीले विशेष सजगता अपनाउनुपर्ने हुन्छ
मतदान सम्पन्न भएपछि सुरक्षित तवरबाट मतपेटिका र खटिएका कर्मचारीलाई मतगणना स्थलमा ल्याउनु, मतगणनालाई सुरक्षित र सहज रूपमा अघि बढाउनु र निर्वाचन परिणाम घोषणा गर्नु हुन जान्छ । विजेता उम्मेदवारलाई सुरक्षित तवरबाट आफ्नो कार्यक्रम सम्पन्न गर्ने वातावरण प्रदान गरेपछि निर्वाचन प्रक्रिया र यसभित्रका सुरक्षा कार्य सम्पन्न भएको मानिन्छ ।
चुनाव आउँदा कोही पनि पूर्ण रूपमा निष्पक्ष हुन सक्दैन। तर कसको पक्ष लिने भन्ने धारणा बनाउनु र छान्नु अत्यन्त कठिन विषय हो। कोही पनि तटस्थ बस्न नसक्दा विवेकको प्रयोग मतदातासामु ठूलो चुनौती हुन्छ। चुनावी बजारमा खसी–मण्डा जस्तै किनबेचको आवाज चर्को हुन्छ। कार्यकर्ता सोचको नेतृत्व पार्टीले गर्छ, त्यसैले विवेक खर्च गर्नुपर्दैन। तर नागरिक बन्नु अत्यन्त कठिन हुन्छ।
चुनावी माहौलमा घृणा, उत्तेजना, आवेग, प्रतिक्रिया, डर र लोभको खुलेआम व्यापार हुने गरेको पाइन्छ । कला प्रयोग गर्न जान्नेहरूका लागि यी सबै सजिलै बिक्री हुने वस्तु हुन्छन् । जब नागरिक भीडमा रूपान्तरित हुन्छ, विवेकको निर्णय अरूले गर्छन् । आवेग र प्रतिक्रियाले हाँक्ने लम्पट समाजलाई नियन्त्रण गर्नु मत्त हात्तीलाई माउतेले चलाएजस्तै हुन्छ।
सबैसँग बुद्धि र विवेक त हुन्छ, तर त्यसलाई कसरी प्रयोग गर्ने भन्ने कुरा नै मुख्य हो। चुनावी बजारमा घृणा, उत्तेजना, आवेग, प्रतिक्रिया, डर र लोभ खुबै बिक्री हुन्छन्। कलामय प्रयोग गर्न जान्ने सबै कुरा यस बजारमा बिक्री हुन्छन्। जब नागरिक भीडमा परिणत हुन्छ, तब विवेकको निर्णय मालिकहरूले गर्छन्।
निर्वाचनको अर्को कमजोर पक्ष हो, व्यक्ति पूजाको नयाँ संस्करण । पुरानो पुस्तालाई ‘झोले, दास र सेवक’ भन्दै र आरोपित गर्दै उदाएको नयाँ राजनीतिले यो चुनावमा ती प्रवृत्तिहरूलाई अझ स्थापित गर्दै लगेको छ । र, लाजमर्दो गरी आफ्नो गरिमालाई गुमाएको छ । यो चुनावमा पुरानो पुस्ताले गरेको देवत्वकरणको राजनीति नयाँ पुस्ताले झन् आधुनिक र व्यापक शैलीमा दोहोर्याइरहेको छ । यस्तो देखिँदै छ कि, नयाँ पुस्ता पनि कसैको ‘झोले वा सेवक’ बन्न नै अभिशप्त छ ।
त्यसो त, सामाजिक सञ्जालको असामाजिक प्रयोग यो चुनावको अर्को कमजोर पक्ष हो । परिणाम, सामाजिक सञ्जालमा तर्क होइन, ट्रोल र गाली हाबी हुँदै छन् । तथ्य–प्रमाणहरू अस्वीकार गरिँदै छन् । र, नयाँ पुस्ता पुरानोभन्दा अझ खतरनाक ढंगले कसैको देवत्वगान गाउँदै उसको पछिपछि कुदिरहेको छ ।
अहिले चुनावको लागि मात्र चुनाव हुन गैरहेको छैन । यो त समग्रमा देशको चिन्ता सँग जोडिएको छ । मूल प्रश्न भनेको यसले कस्तो सरकार दिन्छ भन्ने नै हो । देशमा स्थायित्व कायम हुन्छ कि हुन्न ? सदा सत्ताको छिनाझप्टी, बदलिरहने समिकरण को दुश्चक्रमै दल तथा नेताहरू लागिरहन्छन् कि सुध्रिएर देश बनाउनुपर्छ भन्नेतर्फ उद्यत रहन्छन् भन्ने चिन्ता र चासो हो ।
देशले चुनाव मात्र खोजेको छैन, बलियो, जनताको तीव्र आक्रोश र निराशा चिर्ने सरकार खोजेको छ । जुन सरकार निरंकुश नभएर लोककल्याणकारी होस् । सबै उमेर र तप्काका जनताको नजरमा आशा जगाउने खालको होस् । यसको लागि आफूले चाहेकै, दल या पात्र मात्रै खोजिँदै छैन, जो आए पनि केही गरुन् भन्ने चाहना राखिएको छ ।
यसपाली शान्तिसुरक्षा कस्तो हुन्छ भन्ने पिरलो हुनु स्वभाविक हो। भदौको ध्वंसात्मक आन्दोलनले राजनीतिलाई एकमात्र पेशा ठान्नेहरूको सातो टिपेको छ । जनताको नजरमा ठाडो शीर गरेर उभिन कसैलाई पनि सहज छैन । एकले अर्को तर्फ यो हो खराव र दोषी भनेर औंला ठड्याइरहेका छन्, कतिसम्म नङ्ग्याउन सकिन्छ त्यो सबै गरेका छन् । यस्तो अवस्थामा सरकार, निर्वाचन आयोग र सरकार का अंगमाथि निर्वाचन शान्तिपूर्वक सम्पन्न गराउनुपर्ने दायित्व छ ।
निर्वाचन आफैंमा शान्तिपूर्ण प्रक्रिया हो । तेश्रो विश्वमा मात्र यसलाई युद्धको अर्को रूपमा लिइन्छ । चुनाव जित्नुलाई युद्धै जित्नु बराबर ठानिन्छ । जितहारलाई सहज रूपमा ग्रहण गरिँदैन । जित्नेले संसार जिते बराबर ठान्छ, हार्नेले धाँधली भयो भनेर विरोध गर्छ ।
दलहरुबीचको दुषित प्रतिस्पर्धा,जे गरेरपनि जित्नुपर्ने सोच,एकलेअर्कोलाई खुइल्याउन बाँकी नराखिने शब्दजाल, सामाजिक सञ्जाल तथा आर्टिफिसियल इन्टेलिजेन्सको पहुँच र चरम दुरूपयोग, पत्रिकावाजी, तँछाड मछाड, दलहरूकै कार्य कर्ता बीच हुनेझडप, घातप्रतिघात, मतदाताउपर बाँडिने हुनेनहुने आश्वासन, निमुखा जनताको फाइदाउठाएर लोभ्याउन खोज्ने दाउपेच, सर्वसाधारणलाई सास्ती हुने गरी राजमार्ग, सडक छेकेर गरिने कार्यक्रम मुख्य समस्या हुन् । तर यस्ता चुनौतीलाई पार लगाउन असम्भव भने छैन
सिद्धान्तको राजनीति सुविधा–केन्द्रित हुँदा इतिहास र पार्टी निरर्थक भए भन्ने भाष्य निर्माण हुँदैछ।व्यक्तिको आकांक्षासामु दल, दर्शन, सिद्धान्त केही हुँदै होइन रहेछ । हिजोसम्म मेरो दल, मेरा नेता भनेर पाखु्रा सुर्किनेहरु टिकट नपाउनासाथ विद्रोही बनेको छ, अर्को दलमा प्रवेश गरेर हाताहाती टिकट सुनिश्चित गरेको छ । जसले जति बल गरे पनि १६५ जना निर्वाचित हुने हुन्, अरु सवैले हार्ने नै छन् ।
जेन–जी विध्वंशपछि पनि पूरातन सोच भत्कन नसकेका पार्टीहरूभित्रै परिवर्तनको भाव बोकेको नेतृत्वले नयाँ प्रतिस्पर्धा गर्नुपर्ने चुनौती छ। सार्वजनिक बहसमा रास्वपाले अघि सारेको आगामी प्रधानमन्त्रीका उम्मेदवार बालेन साहले बहसमा सहभागी हुन इन्कार गर्नुले उनीसँग स्पष्ट दृष्टिकोण, तर्क र योजना नरहेको संकेत हो। उक्त समूहले अझै पनि सामाजिक सञ्जालमा संगठित प्रचार र मनोयुद्धमा कलात्मक प्रयोग गरेको देखिन्छ ।
यसबीचमा सुशासनका लागि गठित भएिको सरकारद्वारा नै न्याय र प्रशासन माथि को हस्तक्षेप, संगठित अपराधका मुद्दा फिर्ता, र प्रशासनमाथि मानसिक आतंक प्रयोग भइरहेको छ । युवा हुनु र युवा चेत हुनु फरक कुरा हो। विचारविहीन नेतृत्वको परिणाम यो संवेदनशील भूगोलमा थेग्न गाह्रो पर्ने लक्षणहरु देखिन थालेका छन् । नेपाल जस्तो विकासोन्मुख देशमा, जहाँ युवाहरू आर्थिक अवसर र रोजगारीका लागि छट्पटाइरहेका छन्, त्यहाँ यस्तो पपुलिज्म झनै घातक हुन्छ ।
युरोपका विकसित देशमा जस्तो परिपक्व राजनीतिक शिक्षाको अभाव रहेको हाम्रो समाजमा युवाहरूको भावनालाई सजिलै बहकाउन सकिन्छ । रास्वपा र बालेनले ‘जेन जी’को नाम त लिएका छन् तर उनीहरूका एजेण्डामा युवाहरूको वास्तविक सपना र भविष्यको कुनै ठोस मार्गचित्र छैन ।
बालेन साहमाथि लागेका शैक्षिक प्रमाणपत्रको विवाद, अस्वाभाविक आम्दानी र सवारी साधन खरिदका प्रकरणहरूले उनीहरूकै सुशासनको नारालाई गिज्याइ रहेका छन् । त्यस्तै, रवि लामिछानेमाथि लागेका ठेक्कापट्टा र सहकारी ठगीका आरोपहरूले ‘नयाँ राजनीति’ पनि पुरानै भ्रष्टाचारको नयाँ अवतार मात्र हो भन्ने पुष्टि गर्छ ।
चैत ५ गतेको निर्वाचनका लागि रास्वपाले अगाडि सारेका उम्मेदवारहरूको सूची झनै चिन्ताजनक छ । युवा उम्मेदवारका नाममा केपी खनाल र सुदन गुरुङहरूलाई अगाडि सारिएको छ, जसको मुख्य क्षमता भनेकै सामाजिक सञ्जालमा आक्रोश फैलाउनु हो ।
यसभन्दा पनि डरलाग्दो पक्ष रास्वपाको आर्थिक स्रोत र वैदेशिक सम्बन्ध हो । राष्ट्रिय सार्वभौमिकताको कुरा गरिरहँदा,योपार्टीलाई नेशनल इण्डोमेण्ट फर डेमो क्रेसी, माइक्रोसफ्ट फाउण्डेसन र बबला फाउण्डेसनजस्ता विदेशी संस्थाहरूले सह योग गरिरहेको चर्चा व्यापक छ । सागर ढकालजस्ता रास्वपाका प्रभावशाली पात्रहरू अमेरिकी दूतावासको ‘युथ काउन्सिल’ सँग जोडिनुले यो पार्टी कतै विदेशी शक्तिको गोटी त बनिरहेको छैन भन्ने गम्भीर प्रश्न उब्जाएको छ ।
यही बदलिँदो परिस्थितिमा नेपालमा पनि नयाँ रणनीति देखिँदैछ। नेपाली नागरि कता त्यागेका वा विदेशी मोहमा परेका शक्तिहरूले’सफ्ट कु’सुरु गरि सकेका छन्। नेपालमा ‘मास हिस्टेरिया’ फैलाउने प्रयास गरिँदैछ। त्यसलाई वैधानिकता दिन चुनावलाई माध्यम बनाइँदैछ, जुन अहिले ‘घण्टी’को रूपमा मैदानमा उत्रिएको छ। डिभीको लाइनमा रहेका, ग्रिन कार्ड लिएका र अमेरिकालाई धर्तीको स्वर्ग मान्ने किशोर तथा युवाहरू अन्धभक्त भई यसैको पछि लागिरहेका छन्।
हो आजको नेपाली समाज एक अनौठो र डरलाग्दो’मास हिस्टेरिया’(सामूहिक उन्माद) बाट गुज्रिरहेको छ। सामाजिक सञ्जालका पर्दाहरूमा देखिने आक्रोश, गाली गलौज र अन्ध–समर्थनले हाम्रो समाज कुन दिशातिर जाँदैछ भन्ने गम्भीर प्रश्न खडा गर्यो । आखिर हामी कसरी विवेकहीन भीडमा फेरियौँ ?यो मास हिस्टेरिया कुनै संयोग मात्र होइन, यो एक लामो प्रक्रियाको उपज हो ।
यसको मुख्य ’भाइरस’ डिजिटल अल्गोरिदम हो । यसले मानिसलाई उसको रुचि अनुसारका उग्र सामग्री मात्र पस्किन्छ । विगत ५–७ वर्षदेखि नै परम्परागत संस्थाहरू न्यायपालिका, प्रेस, राजनीति प्रतिको अविश्वासलाई हतियार बनाएर एउटा यस्तो आधार तयार पारियो कि ’तथ्य’ भन्दा ’हल्ला’ बढी बिक्न थाल्यो ।
जब मान्छेले बारम्बार एउटै प्रकारको प्रोपागान्डा सुन्छ, उसको मस्तिष्कले त्यस लाई नै परम सत्य मान्न थाल्छ ।समाजमा ऐँजेरु पलाउँदा त्यसलाई फाल्नुपर्ने बुद्धिजीवी र मिडिया आफैं किन रक्षात्मक बनेकाछन। भीड यति आक्रामक भयो कि तथ्य बोल्नेहरूलाई तत्कालै ’दलाल’ वा ’विरोधी’को ट्याग झुण्ड्याइयो । यसले गर्दा विवेकशील मान्छेहरू ’सेल्फ–सेन्सरसिप’मा गएकाछन ।
हो, यो अवस्था भ्रष्ट शासकहरूले नै निम्त्याएका हुन्। भ्रष्टहरूलाई त परिवर्तन गर्न सकिएला, तर ‘घण्टी’ले सिर्जना गर्न सक्ने लिबिया, इराक वा बंगलादेश जस्तो अस्थिरताबाट देशलाई फर्काउन निकै कठिन हुनेछ।
नेपाली राजनीति यतिबेला एउटा गम्भीर मोडमा उभिएको छ, जहाँ स्थापित लोकता न्त्रिक मूल्य र मान्यतालाई ‘पपुलिज्म’ अर्थात् सस्तो लोकप्रियताको उग्र छालले चुनौती दिइरहेको छ । यो तुफानको केन्द्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरका प्रमुख बालेन साह छन् । सामाजिक सञ्जालमा उनीहरूका आकर्षक प्रस्तुतिले एउटा भ्रम सिर्जना गरे पनि, भित्री रूपमा ती राजनीतिक अवसर वादको पर्याय बन्दै गएका छन् ।युवा पुस्ताको निराशा र आक्रोशलाई हतियार बनाएर देशलाई एक अनिश्चित र खतरनाक दिशातर्फ डोर्याइरहेका छन् । राजनीतिक अनुभव र दार्शनिक जग नभएकाहरूले उत्तेजक नाराका भरमा युवालाई सडकमा उतार्ने र त्यसबाट सत्ताको लाभ लिने जुन खेल खेलिरहेका छन्, त्यसले नेपालको लोकतान्त्रिक भविष्यलाई नै संकटमा पारेको छ ।
यी शक्तिको राजनीतिक शैली आक्रामक मात्र छैन, यो उग्र र हिंसात्मक समेत देखिन्छ । बालेन साहले प्रशासनिक अड्चन आउँदा देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार नै जलाइदिने जुन धम्की दिए, त्यो कुनै जिम्मेवार नेताको अभिव्यक्ति हुन सक्दैन । यो एउटा यस्तो प्रवृत्ति हो जसले संस्थागत मर्यादाभन्दा व्यक्तिगत अहंकारलाई माथि राख्छ ।
रास्वपाका सभापति रवि लामिछानेको छवि पनि उत्तिकै विवादास्पद र अस्थिर छ । गत सेप्टेम्बरको आन्दोलनका क्रममा नख्खु जेल बाहिर जम्मा भएको भीडका आडमा उनले जसरी ‘उन्मुक्ति’ पाए, त्यसले उनी विधिको शासनभन्दा माथि रहन चाहन्छन् भन्ने स्पष्ट पार्छ । सहकारी ठगी र अन्य आर्थिक अनियमितताका गम्भीर आरोपहरू झेलिरहेका व्यक्तिले भीडको सहारा लिएर कानुनी प्रक्रियालाई छल्नु लोकतन्त्रका लागि शुभ संकेत होइन ।
नेपाललाई अहिले स्थिरता, सुदृढ अर्थतन्त्र र लोकतान्त्रिक मूल्यको आवश्यकता छ, न कि आक्रोश र उग्रवाद फैलाउने अवसरवादीहरूको । यदि हामीले समयमै यस्तो प्रवृत्तिलाई चिन्न सकेनौं भने, नेपालको भविष्य झनै अन्धकारतर्फ धकेलिने निश्चित छ ।
यो चुनावको अर्को कमजोरी के भने, भ्रष्टतन्त्रविरुद्ध ठगतन्त्रका मतियारहरू मैदानमा छन् । र, दुर्भाग्यवश, सुशासनको स्वर छ निकै मधुरो । एकातिर संस्थागत भ्रष्टाचारले राज्य खोक्रो बनाउनेहरू छन्, अर्कातिर छन् ‘म सफा छु’ भन्ने स्वयं आत्ममुग्ध मैला अनुहारहरू । यसैगरी, चुनावी मैदानमा जसरी होहल्ला चलिरहेको छ, त्यो हेर्दा लाग्छ, यो चुनावमा अहंकार र निर्लज्जताको प्रतिस्पर्धा छ । र, उत्तरदायित्व लज्जाबोधले मर्माहत छ । खासकुरा के भने पुरानाहरूको अहंकार र नयाँहरूको निर्लज्जताले यो चुनावलाई प्रदूषित गरिरहेको छ, जहाँ राजनीतिक उत्तरदायित्वको बहस कतै छैन ।
यो चुनावमा परम्परागत नेतातन्त्रविरुद्ध, नयाँ अनुहारको नेतातन्त्र मैदानमा उपस्थित छ । यस्तो लाग्छ, हल्ला, अफवाह र सामाजिक सञ्जालको ट्रेन्डले मान्छेको अनुहारलाई बेचिरहेको छ । जहाँ राजनीतिक एजेन्डाहरू कतै छैनन् । यो चुनावमा परम्परागत जडताले, नयाँ उन्मादसँग प्रतिस्पर्धा गर्दै छ । यो चुनावको सबैभन्दा कमजोर पक्ष, व्यक्तिवाद र प्रियतावाद मैदानमा भिड्न खडा छन्, जहाँ एजेन्डा र नीतिको चर्चा कतै छैन । यसैगरी, यो चुनावमा नयाँ र पुरानोबीच ध्रुवीकरण गर्न खोजिँदै छ । र, निरुत्साहित गरिँदै छ, असल राजनीतिको बहस ।
प्रश्न आउँछ, के नयाँ पुस्ताको उपस्थिति मात्रैले राजनीतिमा क्रमभंगता सम्भव छ, एजेन्डा चाहिँदैन ? के भावनात्मक आवेगले मात्र राजनीतिका परम्परागत संकट समाधान हुन्छन्, योजना चाहिँदैन ? अथवा, के क्रमभंगता फगत उमेरको कुरा हो, सोच, संस्कृति र प्रवृत्तिको क्रमभंगता आवश्यक छैन ?
अवश्य नै यो चुनाव इतिहासको पानीढलो बन्नुपर्छ, तर यसरी नै होहल्ला गरेर यो चुनावको राजनीतिक गरिमा किमार्थ स्थापित हुँदैन । सोचौं त, नयाँ पुस्ता पनि मान्छेको अनुहार, उसको देवत्वकरण, नाराबाजी र उत्तरदायित्वहीनतामै रमाउने हो भने हाम्रो राजनीतिमा गम्भीर हस्तक्षेप हुन्छ कसरी ? हिजो हामीले राजनीति, दल र नेताहरूलाई जहाँजहाँ प्रश्न गर्यौं, के यो निर्वाचनले ती प्रश्नहरूको जवाफ खोज्ला ? कि ती सबै नयाँ संस्करणमा पुनः प्रकट हुनेछन् ? कतै यो निर्वाचन परम्परागत जडता र प्रियतावादको सस्तो तमासा मात्र त बन्ने छैन ? आशा गरौं, यो निर्वाचनले हाम्रो समयको गरिमालाई बोक्नेछ । र, यो फगत राजनीतिक तमासा मात्र हुनेछैन ।
लोकतन्त्रको सार वस्तुतःचुनाव जित्नु मात्र होइन, राजनीति, राज्य र राजकाजलाई नागरिकप्रति उत्तरदायी र जिम्मेवार बनाउनु हो । व्यक्ति होइन, नीतिलाई बलियो बनाउनु हो । र, सत्यको सक्षमा उभिनु हो । अन्यथा, यो निर्वाचनले पनि होहल्ला र भ्रमलाई नै स्थापित गर्ने हो भने, यसले आफ्नो प्रयोजन पुष्टि गर्छ कसरी ? र, यसले जेन–जी आन्दोलनको गरिमालाई स्थापित गर्छ कसरी ? यो निर्वाचनले राजनीति लाई तमासा हुनबाट जोगाओस् र नयाँ युगका एजेन्डाहरूलाई पुनःस्थापित गरोस् । त्यसो हुन सकेन भने हाम्रो राजनीति अरू केही वर्ष थप अन्योल र अँध्यारोमा फस्नेछ । र, त्यसपछि हामीसँग पछुताउनुबाहेक अर्को विकल्प बाँकी रहने छैन ।
डिजिटल पुस्ता डिपफेक र एल्गोरिदममा रमाउँदै छ । `एआई`द्वारा उत्पन्न गरिएको छवि, भिडियो र अडियोमार्फत मतदाताको स्मार्टफोनमा झुल्किएको डिपफेक सही नियतले मुलुक प्रवेश नगरेको बुझ्न ढिला भइसकेको छ ।निर्वाचनको नतिजालाई प्रभावमा पार्न कृत्रिम बुद्धिमत्ता (एआई)द्वारा निर्माण गरिएका `डिपफेक` सामाग्रीले कुशल विशेषज्ञलाई समेत नक्कली भनेर चिन्न गाह्रो बनाएको छ । जानाजानी गलत जानकारी फैलाउन प्रयोग गरिने धेरै उपकरणहरू कथित विकल्पको पक्षमा प्रयोग गरिएको छ।चुनावको नतिजालाई प्रभावित गर्न `डिपफेक र एल्गो रिदम` रणनीतिक ढङ्गले सक्रिय भएको छ ।
आयातित लोकतन्त्र र १२बुँदेको सङ्कट टार्न `प्रविधि र पपुलिस्ट`को रणनीतिक प्रयोग गरिएको छ । सेप्टेम्बर विद्रोहमार्फत सत्ताच्युत गरिएका असफल नेतृत्वलाई निर्वाचन मार्फत रोक्न सोसल मिडिया कम्पनीहरू आश्चर्यजनक ढङ्गले लागिरहेको बुझ्न डिजिटल पुस्ता अनिच्छुक छ । प्रविधिको बारेमा ज्ञान नभएका, मिडिया साक्षरता नभएका, डिपफेकको बारेमा थाहा नपाएका नागरिक सम्म पुगेको भ्रमपूर्ण सामाग्रीले निर्वाचनको नतिजामा गम्भीर प्रभाव पार्ने सङ्केत प्राप्त भइसकेको छ ।
मिसन खरानी पश्चात् प्रयोग गरिएका पात्र र प्रविधि मुलुकको दुर्भाग्य बन्दै छ । रणनीतिक दुष्प्रचारलाई मतदातासम्म पुर्याउँदै प्रभावित गर्ने कोसिस तीव्र गतिमा चलाइएको छ । पश्चिमा शक्तिद्वारा पालित पोषित पात्रलाई डिपफेकको मद्दतमा नागरिकसम्म पुर्याउने खेल सफलतापूर्वक चलाइएको छ ।`लाईक, सेयर र कमेन्ट`को भ्रमपूर्ण नतिजा पस्किँदै एआई निर्मित सामाग्रीमार्फत मतदाताको मन परिवर्तन गर्ने अभियान चलाइएको छ । दुर्भाग्यवश परिवर्तनको नसामा लट्ठिएको डिजिटल पुस्ता आफ्नै बरबादीमा उत्सव मनाउँदै छ ।
अमेरिकी लोकतन्त्रले नेपालको राजनीति र दलीय राजनीतिको चरित्र ध्वस्त बनाएको छ । १२बुँदेको पुच्छर समातेर कुर्सीसमेत आर्यघाट जाने काँग्रेस एमालेको संसदीय पुँजी मिसन खरानीपश्चात् समाप्त भएको छ । जब ओली-देउवाले संसदीय अङ्क गणितलाई लोकतन्त्र बनाए, सिआइए र डिप स्टेटले जनादेश उल्टाएर निर्वाचन गराउँदै छ । भू-रणनीतिक र भू-आर्थिक हितहरूको रक्षा गर्न सङ्घर्ष गरिरहेको मुलुक निर्वाचन मार्फत ट्र्याकमा फर्किन नदिने तारतम्य मिलाइएको छ । वास्तविक समस्या नबुझेका, शासकीय क्षमता शून्य रहेका अयोग्य पात्रलाई जलाइएको सिंहदरबार पुर्याउन मरिहत्ते गरिरहेको शक्तिले नेपालको आगामी दिन कस्तो हुनेछ भन्ने सङ्केत दिएको छ ।
सम्पूर्ण जीवन राजनीतिमा बिताएका व्यक्तिहरू किन र कसरी `फ्लप` बने/ बनाइए ? नेपाललाई संयुक्त राष्ट्र सङ्घको सदस्य दिलाउने अमेरिकी स्वार्थ राजनीतिक स्थिरताको निम्ति बाधक त भएन ? राजनीति रहर र अवसरवादी खेल हो भन्ने अवस्थालाई परिवर्तनको नाम कसले दिँदैछ ? मुलुकको वास्तविक समस्या `कथित नयाँ` राजनीतिमा नआउनु हो भन्ने `स्यालहुइयाँ` कसले चलाउँदै छ ? पुरानाले सकेनन्, अब कथित नयाँले देश बनाउँछन् भन्ने वीभत्स नारा कसले चलाइरहेको छ ? हत्यारा र भ्रष्टलाई सत्ताच्युत गर्ने बहानामा मुलुकको अस्तित्व र पहिचानलाई आगोमा झोस्दै कस्तो परिवर्तन खोजिँदै छ ? ढुङ्गेधारा बनाएको `जस` लिने पपुलिस्टहरुले जलाइएको सिंहदरबार बचाउन किन आवश्यक ठानेनन् ? यी र यस्ता अनेकौँ `यक्षप्रश्न`को जवाफ खोज्न अल्छी गरेको डिजिटल पुस्ता सर्वनाशलाई सिर्जना मान्दैछ।
परम्परागत खेतालामार्फत अमेरिकी उपलब्धि उल्टिने या मुलुक कोर्स करेक्सनमा प्रवेश गर्ने निचोड पश्चात् कथित विकल्पको रणनीतिक प्रयोग गरिएको सजाय मुलुकले भोग्दैछ ।आयातित लोकतन्त्रको त्रासदीमा फसेको मुलुकमा `सत्ताको ट्रफी` प्राप्त गर्ने लिगलिगे दौड सुरु गरिएको छ । हरेक दश वर्षमा गरिने/गराइने रणनीतिक ध्वंसमा मुलुक निरन्तर फस्दै आएको छ । नेतात्रयको नाङ्गो नाचपश्चात् बदनाम बनेको आयातित उपलब्धि जोगाउन सेप्टेम्बर विद्रोह लिएर काठमाडौँ ओर्लिएको अमेरिकी पुँजीवाद दङदास छ । अमेरिकी पुँजीवादको आधुनिक अस्त्र बनेर उदाएको सोसल मिडियाले मतदाताको मन परिवर्तन गर्ने अभियान तीव्र गतिमा चलाइरहेको छ, जसलाई डिजिटल पुस्ताले आँखा चिम्लेर स्वागत गरिरहेको छ ।
भूराजनीति, अर्थनीति, परराष्ट्र नीति, पार्टी, सिद्धान्त, कार्यक्रम, कूटनीति केही होइन, चुनाव चिन्ह सबै हो भन्ने झिल्के-राजनीति स्थापित गर्न सिआइए र डिपस्टेट सफल हुँदैछ । आयातित उपलब्धिको बहानामा पश्चिमा नीति बोक्न बाध्य पार्ने, तिनै नीतिको कारणले युवालाई मुलुक छोड्न बाध्य पार्ने, मुलुक र परिवारसँग बिछोड हुनुपरेको पीडा `असफल नेतृत्व`को थाप्लोमा हाल्न सफल अमेरिकी पुँजीवादले गरिरहेको षडयन्त्र डिजिटल पुस्ताले कहिल्यै बुझ्ने कोसिस गरेनन् ।
अमेरिकी सत्ताको आधुनिक टुल्स पपुलिज्म, भाइरलिज्म, सोसल मिडिया, डिपफेकलाई डिजिटल पुस्ताले परिवर्तन मान्दैछ । मुलुकको सभ्यता र संस्कृति कमजोर मात्र भएको अवस्थामा देशभक्तहरू जुरमुराउने सङ्केत प्राप्त हुनासाथ अवसरवादी र अराजकतावादीलाई नेता बनाउन सिलिकन भ्याली नाङ्गो ढङ्गले मैदान ओर्लिएको छ । सिलिकन भ्यालीलाई थाहा छ, क्रेजले मतदानमा प्रभाव पार्न सक्छ । क्रेजले भिड जम्मा गर्न सक्छ तर राजनीतिज्ञले मात्र मुलुकलाई नयाँ दिसा दिन सक्छ । फलस्वरूप पश्चिमा शक्ति क्रेजको उत्पादन र विज्ञापनमा दिन रात एक गर्दै छ । यस्तो विडम्बनापूर्ण अवस्थामा लादिएको आम निर्वाचनले मुलुक सिलिकन भ्यालीको एकल प्रयोगशाला बनिसकेको डिजिटल पुस्ताले बुझ्न जरुरी छ ।
फगत कुर्सीको निम्ति सभ्यता, आस्था र वैदिक सनातन धर्म त्यागेको, ठुला नदी भारतलाई उपहार दिएको, एमसिसी पुरस्कार संसद्बाट अनुमोदन गरेको, कुर्सीसमेत आर्यघाट जान जस्तोसुकै सेवा गर्न तयार रहेको अवस्थामा सेप्टेम्बर विद्रोहमार्फत नेतात्रय किन सत्ताच्युत गरिए भन्ने मतदानपूर्व डिजिटल पुस्ताले बुझ्न आवश्यक छ ।
ओली, देउवा, प्रचण्ड मिल्काएर ल्याउन चाहेका पपुलिस्टबाट उनीहरू के चाहन्छन् ? आफ्नै लगानीमा जन्माइएको पपुलिस्ट सत्तामा पुर्याउँदै गरिने कथित सम्झौता पश्चात् भूराजनीतिक टकराब कस्तो रहला ? राजनीतिक कार्यक्रम भनेको `अमुक पपुलिस्ट`लाई जिल्ला ल्याउने भाइरलहरूको बाचा र प्रतिबद्धता सफल भएमा डिजिटल पुस्ताको भविष्य कस्तो हुनेछ भन्ने सङ्केत मिलिसकेको छ ।
भविष्यमा के हुन सक्छ भन्दै अनुमान गर्न हतार हुनेछ तर पपुलिस्टले समस्या समाधान गरेको इतिहास विश्व राजनीतिमा कहिँकतै भेटिएको छैन । अधिक आत्मविश्वास वा भ्रमको कारण आफूलाई ‘योग्य’ मान्नेहरू केवल चुनाव चिन्ह लिएर दैलोमा आइपुगेका छन् । सिद्धान्त, विचार छोडेका हाइब्रिड पञ्चबाट सत्ता खोसेर सिद्धान्त, विचार नभएकालाई सत्तामा पुर्याउने `सिआइए र डिपस्टेट`को योजनालाई एल्गोरिदमले ‘परिवर्तन’ बनाएर पस्किएको छ । पपुलिज्म समाधान होइन, समस्याको अर्को रूप हो भन्ने लुकाउन सिलिकन भ्यालीले महत्त्वपूर्ण समय खर्च गरिरहेको छ।

