चितवन, कात्तिक १९ : गठबन्धनको तर्फबाट चितवन क्षेत्र नं.१ का प्रतिनिधिसभाका उम्मेदवार डा.विश्वनाथ पौडेललाई समर्थन गर्नेहरु बढ्न थालेका छन् । शुक्रबार नै दुई जना स्वतन्त्र उम्मेदवारले डा.पौडेललाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निस्कृय भएको घोषणा गरेका छन् ।
शुक्रबार साँझ ‘कलधारा’ चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएका स्वतन्त्र उम्मेदवार उत्सव धमलाले पनि डा.पौडेललाई समर्थन गर्ने घोषणा गरेका छन् । एक विज्ञप्ती जारी गर्दै धमलाले जिल्लाको विकास र समृद्धिका लागि डा.विश्वनाथ पौडेलको जित अपरिहार्य रहेकाले उहाँलाई समर्थन गरिएको जनाएका छन् ।
उनको विज्ञप्तीमा भनिएको छ–‘आगामी मङ्सिर ४ गते सम्पन्न हुनगइरहेको प्रतिनिधि सभा निर्वाचन २०७९ मा मैले क्षेत्र नं. १ चितवनबाट कलधारा चुनाव चिन्हमा स्वतन्त्र रूपमा आफ्नो उम्मेदवार दर्ता गराएकोमा गठबन्धनका साझा उम्मेदवारको रूपमा नेपाली काङ्ग्रेस को तर्फबाट प्रस्तुत हुनुभएका अर्थबिद डा. विश्वनाथ पौडेल सङको भेटघाट, अन्तरक्रिया तथा छलफलबाट अब यस् क्षेत्र तथा समग्र जिल्लाको बिकाश र समृद्धिको लागि डा. विश्व पौडेलको अपरिहार्यता महसुस गरी उँहालाई मेरोतर्फबाट पूर्ण समर्थन जनाउँदै मेरो सम्पुर्ण सहयोगी तथा शुभचिन्तकहरुमा डा. बिश्वनाथ पौडेललाइ अत्यधिक मतका साथ बिजय गराउने अभियानमा जुट्न अनुरोध गर्दै आजको मिति देखिनै आफ्नो उम्मेदवारी निष्क्रिय गरिएको ब्यहोरा सम्पुर्णमा सादर अनुरोध गर्दछु ।’
यसअघि शुक्रबार नै स्वतन्त्र उम्मेदवार ओमकृष्ण थपलियाले डा.पौडेललाई समर्थन गर्ने घोषणा गरेका थिए । उनले खैरहनीमा एक भव्य कार्यक्रम नै गरेर आफ्नो उम्मेदवारी निस्कृय भएको घोषणा गर्दै डा.पौडेललाई समर्थन रहेको र जित सुनिश्चित गराउन सबैमा अनुरोध गरेका थिए ।
उम्मेदवार डा.पौडेलले दुई युवा उम्मेदवारहरुको समर्थनले आफू खुशी भएको प्रतिक्रिया दिए । उनले दुई उम्मेदवारको त्यागप्रति प्रशंसा गर्दै पूर्वीचितवनको विकासमा संगसंगै हातेमालो गर्दै अघि बढ्ने प्रतिवद्धता जनाएका थिए ।

