चितवन कार्तिक २२ : नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले ४ मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीका र पार्टीले सहयोग गरेका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा ७६ जनालाई पार्टीबाट निष्कासन गरेको छ।
मंगलबार कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेको उम्मेदवारविरुद्ध उम्मेदवार भएका र त्यस्ता उम्मेदवारको प्रस्तावक वा समर्थक भएकाहरुलाई कांग्रेसको विधान अनुसार निष्कासन गरेको हो।
अनुशासन समितिले ७६ जनाको नाम सार्वजनिक गर्दै उनीहरुलाई सदस्यसमेत नरहने गरी पार्टीको अभिलेखबाट हटाउन पार्टीका विभिन्न समितिलाई निर्देशन दिएको छ। अन्य पार्टीमा गई उम्मेदवार भएकाहरुको नामावलीसमेत अभिलेखबाट हटाइने समितिले बताएको छ।
निष्कासनमा पर्नेहरुमा चितवन-३ बाट स्वतन्त्र उम्मेदवारी दिएका केन्द्रीय सदस्य दिनेश कोइराला, पूर्वसांसद अमरेशकुमार सिंह, महाधिवेशन प्रतिनिधि महादेव गुरुङ, गोकर्णेश्वर नगरपालिकाका नगर सभापति श्रीकृष्ण जोशीलगायत छन्।




