कार्तिक २५,भरतपुर : चितवन–३ का प्रतिनिधिसभा उम्मेदवार विक्रम पाण्डेले मंसिर–४ पछि किसानको खेतमा मल र बीउसहित हलो बोकेर आउने दाबी गरेका छन् । चुनावी घरदैलोका क्रममा भरतपुर–१४ राधापुरस्थित कालिका मन्दिरचोकमा भएको कार्यक्रममा बोल्दै पूर्वमन्त्रीसमेत रहेका नेता पाण्डेले किसानले गर्न चाहेर पनि सरकारले नचाहिदिँदा सोचेजस्तो काम गर्न नसकेकोले हरेक किसानको प्रतिनिधित्व गर्ने गरी काम गर्न चितवन–३ बाट उम्मेदवार बनेको बताएका हुन् । सुन फलाउन सकिने चितवनमा सरकारको लाचारिपनका कारण अन्न पनि फलाउन नसकेको उनले बताए ।
नेपाललाई कृषि क्षेत्रमा उत्पादन वृद्धि गरी विश्वकै नमुना देश बनाउन सकिने उनको भनाइ छ । तर, देशलाई नमुना बनाउन एउटा निर्वाचन क्षेत्रको लागि एक जना सक्षम नागरिकको आवश्यक परेकोले चितवन–३ को जिम्मा लिन आफू आइपुगेको नेता पाण्डेको भनाइ छ । ‘विश्वामै नमुना देश बनाउन कम्मर कसेर लागेको छु,’ उनले भने, ‘त्यसको लागि एउटा निर्वाचन क्षेत्रमा एक जनाले जिम्मा लिनुपर्छ । त्यसैले चितवन–३ को जिम्मा मैले लिएको छु ।’
देशमा वास्तविक किसानले सरकारी अनुदान पाउनबाट बञ्चित भइरहँदा कागजी किसान र नेताका किसानले अनुदान खाइरहेको समेत उनले बताए । नेताको खल्तीका किसानले सरकारी अनुदान खाइरहेको तीतो यथार्थ भोगिरहेको बताउँदै उनले भने, ‘वास्तविक किसान त बैँकमा ऋण तिर्न नसकेर मर्नु न बाँच्नु हुनुपरेको छ ।’ यी सब समस्या समाधान गर्नको लागि आफूले नेतृत्व लिन चाहेको नेता पाण्डेले बताए । ‘मेरो निर्वाचन चिन्ह हलो हो । त्यसैले कुनै पनि किसानका लागि जुनसुकै समयमा पनि काम लाग्न सक्छ,’ उनले भने, ‘अब विक्रम पाण्डेको हलो, हलोमात्रै आउँदैन । मल र बीउ सँगै लिएर आउँछ ।’

