चितवन कार्तिक २६ : अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।
नेपाली कांग्रेसको निकट रहेर चुनावी प्रचारमा जुटेका अर्थविद् वाग्लेले मुलुकको प्रधानमन्त्री बन्नका लागि थापा सक्षम र तयार रहेको पनि पटकपटक दोहोर्याए ।
शनिबार काठमाडौँ क्षेत्र नम्बर ४ को एक कार्यक्रममा बोल्दै उनले थापालाई प्रधानमन्त्री बनाउनका लागि जिताएर पठाउन पनि स्थानीय मतदातालाई आह्वान गरे । अर्थविद् वाग्लेले थापासँग प्रधानमन्त्री बन्ने भिजन र सोही अनुसारको आफूहरुजस्ता विज्ञहरुको टिम रहेकोसमेत खुलासा गरे ।
थापाले कोभिड महामारीमा राजनेताको छवि बनाएको भन्दै उनलाई अगाडि बढाएर प्रधानमन्त्री बनाउन सके १० वर्ष भित्र मुलुकमा ठूलो परिवर्तन आउने विश्वाससमेत व्यक्त गरे । अर्थविद् वाग्लेले थापाले ७ महिना स्वास्थ्यमन्त्री हुँदा मुलुकमा एकीकृत स्वास्थ्य नीतिको जग बसाएको र त्यसलाई कार्यान्वयन गरेर लैजाँदा हरेक नागरिकलाई विमाको माध्यामबाट स्वास्थ्य उपचार पाउने अवस्था रहेको पनि बताए ।
थापा आन्दोलनबाट आएको नेता भएको उल्लेख गर्दै उनले नेता थापाकै नेतृत्वमा मुलुकको अवस्थामा पनि परिवर्तन गर्न सकिने बताए । अब पुराना पुस्ताका नेताहरुको योगदानको सम्मान गर्दै नयाँ नेतृत्वबाट मुलुकलाई अघि बढाउन सबै लाग्नुपर्ने अर्थविद् वाग्लेको भनाई थियो ।
‘गगन थापालाई फेरी मन्त्री, उपप्रधानमन्त्री र प्रधानमन्त्री नै बनाउन सकियोभने सामाजिक सुरक्षाको प्रत्याभुतिले मूर्त आकार लिन्छ भन्ने मलाई लाग्दछ । अहिले भइराखेका विकृतिहरुलाई हामीले सुधार गर्ने र नेपाल जस्तो गरिव मुलुकले पनि धान्नसक्ने खालको सामाजिक सुरक्षाको एउटा आर्केटेक्चर हामीले बनाउँछौँ’ उनले भने,’गगन थापाले केपी ओलीको निरंकुश सरकारलाई पनि संसदमा एक्लै उभिएर कोभिडकालमा उत्तरदायी बनाउने काम गरेँ । उनले त्यतिबेला स्टेटम्यानको भुमिका निर्वाह गरेँ । नेता त उनी स्थापित रुपमै भए । ३ चोटी सांसद भए । राजनेतामै आउने खालको झलक पनि उनले पछिल्ला दिनमा देखाएका छन् । मलाई लाग्छ-त्यस्तो नेतालाई क्षेत्र नम्बर ४ ले जिताएर पठाइदियो भने तपाईहरुले तुरुन्तै आफ्नै निकट भविष्यमा नै प्रधानमन्त्री पाउनुहुनेछ । उनको जुन भिजन छ, हामीहरुजस्ता मानिसहरुको टिम उहाँसँग छ । यसले अवको ५/१० वर्ष भित्रमै देखिने गरी एउटा गति हामी ल्याउँछौँ। हामी कहीँ बिक्दैनौँ । हामीलाई कसैले किन्न सक्दैन । हामी कसैका गोटी बन्दैनौँ । हामी आफैँ सक्षम छौं । हामीसँग सवलीकरण, सक्षमताको एजेण्डा छ । यो कामको नेतृत्व गगन थापाले गर्दछन् । त्यसका लागि हामीले बल पुर्याई दिनुपर्दछ ।’
अर्थविद् थापाले नयाँ पुस्ता नआई मुलुकलाई समुन्नत बनाउनसक्ने अवस्था नभएको कुरालाई सबैले मनन गरेर अघि बढनुपर्नेसमेत बताए । उनले युवा पुस्ताको परिचालन गरेर मुलुकलाई समृद्ध बनाउन सकिने बताए ।
अर्थविद् वाग्लेले मुलुक पछि पर्नुमा राजनीति नै जिम्मेवार रहेको उल्लेख गर्दै त्यसलाई सुधार गर्दै लैजान पनि नयाँ पुस्ताले त्यसको नेतृत्व लिनुको विकल्प नरहेको बताउनु भयो ।

