चितवन कार्तिक २६ : प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न निर्वाचन देशलाई कता लैजाने भन्नेमा निर्भर रहेको बताएका छन्। शनिबार चितवनमा आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सत्ताबाट किन हटाउनुपरेको हो भन्ने कुरा सबैलाई थाहा भइसकेको भन्दै लोकतन्त्र, गणतन्त्रलाई स्थायी बनाउन आवश्यक भएकाले संविधानको रक्षा गर्न ओलीलाई सरकारबाट हटाएको बताए।
प्रधानमन्त्री देउवाले अहिले देशमा लोकतन्त्र र गणतन्त्रलाई स्थापित गर्नुका साथै समावेशी शासन व्यवस्था दिलाउनु जरुरी भएको बताए। उनले आसन्न निर्वाचनमा चितवनबाट गठबन्धनको जित हुनु आवश्यक रहेको बताए। प्रधानमन्त्री देउवाले चितवनबाट नै स्थानीय तहको निर्वाचनमा पनि सत्तारुढ गठबन्धनले विजयी हाँसिल गरेको उल्लेख गर्दै प्रतिनिधि सभामा पनि जिताएर चितवनका जनताले गठबन्धनको जितको श्रेय लिनुपर्ने उल्लेख गरे।
प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘गठबन्धनको सरकार बनी एकता भएर अघि बढेमा नेपाल राष्ट्र सच्चा मानेमा समावेशी, समानुपातिक मात्रै होइन, राष्ट्रिय एकता पनि स्थापित हुनेछ। मध्यराति दुई बजे ओलीले संसद विघटन गर्नुभयो, दुईपल्ट। जबकी अहिलेको संविधानमा मनपरी तरिकाले संसद विघटन गर्ने अधिकार नै छैन।’
प्रधानमन्त्री देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तामा रहँदा संविधानलाई मनपरी रुपमा प्रयोग गरेर संसद विघटन गरेको उल्लेख गर्दै कुनै पनि प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नरहेको उल्लेख गरे।

