काठमान्डौ १७ माघ : स्वास्थ्य क्षेत्र मानव स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने,स्वस्थ जिवनको लागि आधारशिला निर्माण गर्ने, सम्भावित रोगहरुको रोकथाम तथा नियन्त्रण गर्ने,बिरामीहरुको उपचार गर्ने जस्ता विविध विषय जोडिएको अत्यन्त महत्वपूर्ण क्षेत्र हो। हरेक खालेविकाश निर्माण र अध्ययन अनुसन्धानको केन्द्रमा मानव जिवन हुन्छ। उत्पादन,प्रविधि, गुणस्तर लगायतका हरेक सवालहरुको केन्द्रबिन्दुमा मानव स्वास्थ्य रहेको हुन्छ त्यसैले मानव स्वास्थ्यमा हुने कुनै पनि त्रुटि क्षम्य हुँदैन त्यसैले स्वास्थ्य क्षेत्रलाई अत्यन्त संवेदनशील मानिन्छ। यहि संवेदनशीलता र नागरिक अपेक्षालाई समेत मध्य नजर गर्दै राज्यले स्वास्थ्य क्षेत्रलाई संविधानमा समेत उल्लेख गरेको छ।
स्वास्थ्य क्षेत्रमा रहेको अर्को समस्या भनेको औषधिको उपलब्धता र गुणस्तरको पनि हो। अस्पतालमा आफ्नै फार्मेसी हुनुपर्छ भनिएको छ तर जनशक्तिको व्यवस्था छैन। औषधिखरिद प्रक्रियामा पनि समग्र खरिद ऐनलाई नै टेकेर टेण्डर नै गर्नुपर्छ र खरिद प्रक्रियामा जसले सस्तोमा उपलब्ध गराउन सक्छ, उसैलाई टेण्डर पर्छ। थोकमा सवै औषधि टेण्डर गर्दा विक्रेताले आँफूलाई जुन औषधिमा बढी फाईदा हुन्छ त्यसलाई उपलब्ध गराउने र कम फाईदा हुने अभाव गराईदिने प्रवृति रहेको छ। छुट्टाछुट्टै टेण्डर गर्दा कुनै कुनै औषधिको तोकीएको दररेट वा सो भन्दा कममा उपलब्ध गराउन कोही पनि तयार नहुने अवस्थाले गर्दा औषधिको समग्र आपूर्ति नै प्रभावित बन्ने अवस्था हुन्छ। विशेष गरि ठूला अस्पतालहरुको लागि स्वास्थ्य बीमा कार्यक्रमसँग जोडीएका औषधिहरुको आपूर्ति व्यवस्थापन थप चुनौतिपूर्ण र पेचिलो बनिरहेको छ।
औषधि र औषधिजन्य वस्तुहरुको गुणस्तर, भण्डारण, बिक्रि वितरण लगायतका सम्पूर्ण कार्यको नियमन गर्न बनेको औषधि व्यवस्था विभागले कुनै पनि ठाउँमा आफ्नो उपस्थिति देखाउन सकिरहेको छैन। एकातिर सार्वजनिक खरिद ऐन अनुसार नै औषधि तथा औषधिजन्य बस्तुहरुको खरिद चुनौतिपूर्ण भएको छ भने अर्कोतिर स्वास्थ्य बिमा कार्यक्रमसँग जोडिएका मुल्य तोकिएका औषधिहरुको खरिद झनै चुनौतिपूर्ण बन्ने गरेको छ। यि यावत समस्याहरुमा औषधिव्यवस्था विभाग सहितका तालुक निकायहरु मुकदर्शक भएर बसेको देखिन्छ। यो विचार भीम प्रसाद पौडेलले स्वास्थ्यखबरका लागि लेखेका हुन्।

